अभिलाष गुप्ता
वीरगंज, ०३ साउन । पर्सा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद सुशील कानु वर्षाका कारण उत्पन्न बाढी तथा डुबान समस्याको स्थलगत निरीक्षण गर्दै प्रभावित क्षेत्रमा समाधानको पहलमा जुट्नुभएको छ।
सांसद कानुले वीरगंज महानगरपालिका–१७, २४, २५ र २६ अन्तर्गत बहुअरी, अलौ, सिर्सिया तथा सुगौली क्षेत्रमा पुगेर वर्षाको पानीका कारण किसानले लगाएको धानबाली तथा जनधनमा भइरहेको क्षतिको अवलोकन गर्नुभयो। उहाँले स्थानीय बासिन्दा, किसान तथा जनप्रतिनिधिसँग छलफल गर्दै पानी निकासको दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको बताउनुभयो।
स्थलगत निरीक्षणका क्रममा सांसद कानुले विगतदेखि दोहोरिँदै आएको करिब दुई सय बिगहा खेति योग्य जमिन डुबान समस्या अब स्थायी रूपमा समाधान गर्ने लक्ष्यका साथ आफू सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीयको सुरक्षा, खेतीयोग्य जमिनको संरक्षण तथा प्रभावकारी निकास व्यवस्थापनका लागि आवश्यक पहललाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निरीक्षणमा स्थानीय किसान, जनप्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य तथा रास्वपा क्षेत्र नं. २ का उपसभापति किशोर यादव लगायतको उपस्थिति रहेको थियो।


