अभिलाष गुप्ता
वीरगंज, १७ साउन । लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘सरी मम’ को विशेष प्रदर्शन शनिबार वीरगञ्जस्थित ए–म्याक्स सिनेमा हलमा सम्पन्न भएको छ।एन.एफ.आई. क्रियसन प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा वीरगञ्ज, सिमरा तथा कलैया क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
चलचित्रमार्फत लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको थियो। चलचित्र अवलोकनपछि सहभागी शिक्षकहरूले युवापुस्तालाई लागूऔषधको दुष्परिणामबारे सचेत गराउन यस्ता जनचेतनामूलक चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले विद्यालय तहमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै हिसान पर्साका अध्यक्ष मुकेश गुप्ताले लागूऔषध दुर्व्यसन आजको समाजको गम्भीर चुनौती बनेको उल्लेख गर्दै त्यसविरुद्ध विद्यालय, अभिभावक र समाज सबैले संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताए। चलचित्रले विद्यार्थी तथा युवामा सकारात्मक सोच विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले यस्ता सचेतनामूलक पहलको प्रशंसा गरे।
त्यसैगरी प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको शिक्षा मात्र नभई नैतिक शिक्षा र जीवनोपयोगी सचेतना पनि आवश्यक रहेको बताए। उनले लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि विद्यालयहरूले नियमित रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौला,बरिस्ठ महिला उपाध्यक्ष सुशिला साह,एन प्याब्सनका जियालाल गुप्ता,सोनालाल पटेल,अलोक चौरसिया लगाएतका शिक्षकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
चलचित्रका निर्माता विनोद लामाले ‘सरी मम’ मनोरञ्जनका लागि मात्र नभई समाजलाई सही सन्देश दिन निर्माण गरिएको बताए। उनले लागूऔषधको कुलतमा फसेका युवाको पीडा, परिवारले भोग्नुपर्ने अवस्था र त्यसबाट बच्नुपर्ने सन्देशलाई चलचित्रमार्फत प्रस्तुत गरिएको उल्लेख गर्दै देशका विभिन्न स्थानमा यस्ता विशेष प्रदर्शनलाई निरन्तरता दिइने जानकारी दिए।


