२६ श्रावण २०८०, शुक्रबार
काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेश पछि सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्मा रिहा भएका छन् । उनी शुक्रबार साँझ रिहा भएका हुन् ।
उनी रिहा हुँदा अर्का मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लगायतका सुभेच्छुकहरु रिसिभ गर्न पुगेका थिए । शर्मालाई रिहा हुँदा शुभेच्छुक र समर्थकले खादा र माला लगाइदिएका थिए ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेको २४ घण्टा नबित्दै अदालतको आदेश मा शर्मा रिहा भएका हुन् । अदालतले उनी भाग्ने अवस्था नभएको र प्रमाण पनि नष्ट नगर्ने उल्लेख गरेको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले दिएको आदेशमा भनिएको छ,प्रस्तुत मुद्दामा अनुसन्धानको लागि थुनामा राख्नु पर्दछ भनि म्याद थपका लागि उपस्थित गरिएका व्यक्ति सुनिल कुमार शर्माको हकमा मिति २०७९।४।५ मा अनुसन्धान गर्ने निकाय केन्द्रिय अनुसन्धान व्युरोलाई मिति २०७९।४।५ मा नै निजको आईएससीको शैक्षिक योग्यताको बारेमा लेखि पठाएकोमा ब्युरोमा मिति २०७९।४।११ मा उक्त पत्र दर्ता भएको,बिगत १ वर्षको अवधिमा कुनै अनुसन्धान प्रकृया नै अगाडि बढाएको नदेखिएको, यी सुनिल कुमार शर्मा संसदको प्रतिनिधि सभामा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचित सदस्य रहेको भन्ने मिसिल संलग्न संसद सचिवालयलाई दिएको पत्र जानकारी बाट देखिएको र निजले पेश गरेका शैक्षिक योग्यताको प्रमाणपत्र भारतको विहारको राष्ट्रिय परिक्षा बोर्डबाट जारी भएको देखिएको र अनुसन्धानका लागि राष्ट्रिय परिक्षा वोर्डबाट मिति २०७९।४।५ मा पत्राचार भइसकेको सन्दर्भमा प्रतिवादी सुनिल कुमार शर्मा भागी जाने सम्भावना पनि नरहेको र निजले प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानता समेत रहेको समेत नदेखिँदा म्याद थपका लागि उपस्थित गराइएका प्रतिवादी सुनिल कुमार शर्मालाई मुद्दा अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नुपर्ने अवस्थाको विद्यमानता मिसिल संलग्न कागजबाट नदेखिँदा यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १५ को उपदफा १ बमोजिम तारेखमा राखी मुद्दा अनुसन्धान गर्नू।’शर्मा बिहीबार राजधानीको मण्डिखाटार बाट पक्राउ परेका थिए । साभार– लोकान्तर



