जनकपुरधाम २० भदौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालय र मन्त्रीका लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरु गरिने बताएका छन्।
जनकपुरधाम वडा नम्बर १९ मा बुधवार कृष्णजन्माष्टमी मेला उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम – १९ मै रहेको ५२ बिघामा मधेस सरकारको प्रशासनिक भवन निर्माण गरिने बताए।
उनले यसका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए। उनले सरकारका सबै मन्त्रालयको प्रशासनिक भवनका साथै आवाससमेत सोही परिसरमा निर्माण गरिने बताए। मुख्यमन्त्री यादवले मधेस सरकारले सो जग्गाको लालपुर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिना अगाडि नै पठाइसकिएको उल्लेख गरे।
उनले प्रधानमन्त्री कार्यालयबाट निर्णय आएलगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डिपीआर तयार गरी निर्माण प्रक्रिया अगाडि बढाउने स्पष्ट पारे।उनले मधेस प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’नामकरण गरिने पनि बताए।