वीरगंज। वीरगंज स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष गिततेन्द्रबाबु राई जीबी राई पक्राउ परेका छन् ।
राई आबद्ध रहेको पोखरा स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मार्फत झन्डै एक हजार बचतकर्ताहरूको अर्बौँ रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
उनलाई सोमबार दिउँसो काठमाडौँ स्थित उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनले नियन्त्रणमा लिएको बुझिएको छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन् । उनी वीरगञ्जको सानो पाइला सहकारी सहित देशभर विभिन्न सहरमा रहेका झन्डै एक दर्जन सहकारीहरूमा पनि आबद्ध छन् ।
आइतबार मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट राई विरुद्ध पक्राउ अनुमति लिएको थियो । उनले सूर्य दर्शन सहकारी मार्फत हजारौँ बचतकर्ताहरूको रकम फिर्ता नगरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीसहित सहकारीका अन्य सात जना पदाधिकारीहरू विरुद्ध ९ सय ७१ जना बचतकर्ताले जाहेकी दिएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० श्रवणकुमार विकले जानकारी दिए ।
कास्की प्रहरीले साउन ३२ गते सूर्य दर्शन सहकारीका पदाधिकारीविरुद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो । सोही सूचनाको आधारमा ९ सय ७१ जना बचतकर्ताहरूले एक अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ फिर्ता नगरेको भन्दै जाहेरी दिएको डिएसपी विकको भनाई छ । बचतकर्ताहरूका अनुसार महिनौँदेखि धाउँदा पनि राई र सहकारीका अन्य पदाधिकारीहरूले निक्षेप रकम फिर्ता गर्न आनाकानी गरिरहेका छन् ।
जीबी समूहका अन्य सहकारी पनि जोखिममा
जीबी समूहअन्तर्गत पोखराको सूर्य दर्शनसँगै काठमाडौँको स्वर्णलक्ष्मी सहकारी,बुटवलमा सुप्रिम सहकारी,वीरगञ्जमा सानो पाइला,चितवनमा सहारा, काठमाडौँमै हाम्रो नयाँ कृषि सहकारी,नेपालगंजमा समानता,काठमाडौँमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी रहेका छन् ।
सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न वीरगञ्ज महानगरपालिकाले प्रक्रिया पनि अगाडि बढाएको छ। महानगरले वर्तमान,पूर्व सञ्चालक समितिका सदस्य,लेखा सुपरिवेक्षण समितिका सदस्य र व्यवस्थापकहरूको चल अचल सम्पत्ति रोका गर्न नेपाल राष्ट्र बैङ्कलाई पत्रकार समेत गरेको छ । त्यस्तै उनीहरू विरुद्ध छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी लाई समेत पत्राचार गरिएको छ ।