वीरगंंज, ३० जेष्ठ । तराई–मधेसमा केहि दिन यता गर्मी अत्यधिक बढेर जनजिवन नै अस्तव्यस्त भएपछि वीरगंंज महानगरपालिकाले शिक्षण संस्थाहरुमा फेरि तीन दिनका लागि गर्मी विदा दिने गर्ने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगंंज महानगरपालिका नगरपालिकाले जेष्ठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेक हो ।
यसअघि महानगरपालिकाले यहि जेष्ठ १६ देखि १८ गतेसम्मपनि विद्यालयहरुमा गर्मी विदा दिएको थियो।
बुधबार वीरगंंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले एक सुचना जारी गर्दै हाल गर्मी बढिरहेको र अबका केहिदिन अझ गर्मी बढ्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयहरुमा जेष्ठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी विदा दिने निर्णय गरिएको जनाएका छन् ।
गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा गर्मीको विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए ।
पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो जेष्ठ महिना सुरु भए यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०–४३ डिग्रि सेल्सियस सम्म पुगेको छ ।




