वीरगंज, ३० चैत । वीरगंजमा शनिवार हनुमान (महावीर) जयन्तीको अवसरमा आयोजित शोभा यात्राको क्रममा छपकैया इदगाह चोकमा भएको झडपले स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यु आदेश जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम शनिवार साँझ ६ः३० बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।
कर्फ्यु क्षेत्रको चार किल्ला पनि तोकिएको छ । पूर्वमा वीरगंज महानगरपालिका–१५ को भेडियाही चोक, पश्चिममा वीरगंज महानगरपालिका–२५ को सिर्सिया पुल, उत्तरमा वीरगंज महानगरपालिका–१४ को गण्डक चोक र दक्षिणमा वीरगंज महानगरपालिका–१६ को शङ्कराचार्य गेटसम्म कर्फ्यु क्षेत्रको चार किल्ला तोकिएको हो ।
कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले शान्ति(सुरक्षा कायम राख्न यो आदेश जारी गरेको जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार शोभा यात्रा छपकैया इदगाह चोक नजिक पुगेपछि विवाद सुरु भएको थियो । यात्रामा सहभागीहरूले फरक धर्मका व्यक्तिहरूले इदगाह चोकको एउटा भवनको छतबाट ढुंगामुढा गरेको दाबी गरेका छन् । “शान्तिपूर्ण धार्मिक गीत–सङ्गीतसहितको यात्रामाथि ढुंगामुढा गरेपछि स्थिति बिग्रियो,” एक स्थानीयले बताए ।
ढुंगामुढापछि आक्रोशित सहभागीहरूले इदगाह चोकमा रहेका दुई होटेल तोडफोड गर्नुका साथै झन्डै आधा दर्जन मोटरसाइकलमा आगजनी गरेका थिए । झडपमा करिब डेढ दर्जन स्थानीय र सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेहरूको वीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कयौँ सेल अश्रुग्याँस प्रहार गरेको छ । घटनाको कारण र क्षतिको पूर्ण विवरण अझै स्पष्ट हुन बाँकी छ । प्रशासनले अनुसन्धान सुरु गरेको र स्थानीय बासिन्दालाई संयम अपनाएर शान्ति कायम राख्न प्रशासनले आग्रह गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ ।