वीरगंज, ३१ चैत । शनिबार वीरगंजमा हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्राका क्रममा भएको झडपप्रति भारतको पश्चिमी चम्पारण क्षेत्रका सांसद तथा पूर्व प्रदेश अध्यक्ष डा. संजय जयसवालले प्रतिक्रिया दिएका छन्।
सांसद जयसवालले उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावमा आघात पुर्याउने कुनै पनि गतिविधि अस्वीकार्य हुने बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।
सांसद जयसवालले वीरगंजमा घटेको घटनाले सीमावर्ती क्षेत्रको शान्ति र आपसी सद्भावलाई असर पुर्याउने खतरा रहेको भन्दै सम्बन्धित निकायलाई सजग रहन आग्रह गरे। साथै, उनले धार्मिक आस्थामाथि आक्रमण नहुने वातावरण सुनिश्चित गर्न नेपाल सरकारलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत घटना सम्बन्धी भिडियो सार्वजनिक गर्दै यसप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। सांसद जयसवालले शोभा यात्रामा ढुंगा प्रहार जस्तो घटनाले धार्मिक भावनामा चोट पुर्याउने हुँदा दोषीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याउन जोड दिएका छन्।