वीरगंज, ५ जेष्ठ । पथलैया–वीरगंज औद्योगिक करिडोरमा अघोषित रूपमा भइरहेको विधुत कटौतीका कारण उद्योगहरू दैनिक १० घण्टासम्म विधुत अभावको मारमा परेका छन्।
पछिल्लो एक सातायता बारम्बार भइरहेको विधुत अवरोधले उद्योगहरूको उत्पादनदेखि उपकरण सम्ममा प्रतिकूल असर परिरहेको उद्योगीहरूको गुनासो छ।
वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार, पूर्वनिर्धारित तालिका बिना हुने लोडसेडिङले पूरै करिडोरको औद्योगिक वातावरण समस्याग्रस्त बनेको छ। “कुन बेला विधुत जाने वा आउने भन्ने निश्चित छैन, जसले गर्दा उद्योग सञ्चालनमै अन्योल छ,” उनले बताए।
साना तथा मझौला उद्योगहरूले सञ्चालन समय घटाएका छन् भने ठूला उद्योगहरूले पनि उत्पादन कम गरेका छन्। विधुत आपूर्ति अस्थिर बनेपछि पाँचतारेदेखि सामान्य पर्यटक स्तरका होटलहरू समेत प्रभावित भएका छन्।
क्लासिक होटल सिमराका प्रबन्धक राज भट्टका अनुसार, विधुत कटौतीका कारण महिनामा ३ लाख ५० हजार रुपैयाँ बराबरको डिजेल प्रयोग गरेर जेनेरेटर चलाउनु परेको छ।
नेपाल विधुत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुपेश रुपाखेतीले पिक आवरमा विधुत माग उच्च हुने भएकाले केही चुनौती भए पनि समय मिलाएर आपूर्ति गरिरहेको बताएका छन्।
करिडोरमा करिब १ सय ५० मेगावाट विधुत खपत हुने र उद्योगहरूले वार्षिक करिब ४ अर्ब ५० करोड रुपैयाँ विधुत महसुल तिर्दै आएको तथ्यांक रहेको छ। उद्योगीहरूले प्राधिकरणको लापरबाहीप्रति असन्तोष व्यक्त गर्दै छिटो समाधानको माग गरेका छन्।