अभिलाष गुप्ता
वीरगंज, २३ असोज । हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरी राय यादवको अनियमितता, दम्भपूर्ण व्यवहार र गैरजिम्मेवार व्यवस्थापनका कारण क्याम्पसका सयौं विद्यार्थीको भविष्य संकटमा परेको आरोप लागेका छन्।
क्याम्पसका शिक्षक तथा कर्मचारीहरूले बिहीबार बिरगंजस्थित चिल्ड्रेन पार्कमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रमुख यादवविरुद्ध गम्भीर आरोप लगाएका छन्। उनीहरूले लामो समयदेखि बेवास्ता हुँदै आएको माग पूरा नभएकाले पठन–पाठन कार्य पूर्ण रूपमा ठप्प पारिएको घोषणा गरेका हुन्।
क्याम्पसका प्राध्यापक दिलीप प्रजापतिका अनुसार, शिक्षक र कर्मचारीहरूले सन् २०७९ सालदेखि नै प्रशासनसमक्ष आठबुँदे मागपत्र बुझाउँदै आएका थिए। तर, क्याम्पस प्रमुख यादवको बदनियतपूर्ण रवैया र असहयोगी व्यवहारका कारण समस्या झन् जटिल बन्दै गएको उनले बताए।
उनका अनुसार हामीले पटक–पटक आफ्ना समस्या र मागहरू राख्यौं, तर कुनै सुनुवाइ भएन। बाध्य भएर अहिले पठन–पाठन ठप्प पार्नुपरेको हो। माग पूरा नभएसम्म क्याम्पस बन्द रहनेछ।२०८१ सालमा प्रशासनलाई बुझाइएको मागपत्रमा शिक्षक तथा कर्मचारीहरूले निम्न मागहरू अघि सारेका थिए।त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार तलब सुनिश्चित गर्नुपर्ने,तलबमा एकरूपता कायम गर्नुपर्ने,ग्रेडिङ र बढुवाको स्पष्ट प्रणाली ल्याउनुपर्ने, लेक्चरर र असिस्टेन्ट पदमा भएको अन्याय सच्याइनुपर्ने,“एक पद, एक तलब” सिद्धान्त लागू गर्नुपर्ने,ओभरटाइम र प्याकेजलाई तलबमै रूपान्तरण गर्नुपर्ने,प्रत्येक महिनाको ५ गतेभित्र तलब वितरण गर्नुपर्ने,क्याम्पसको तलब माध्यमिक विद्यालय सरह बनाइनुपर्ने।
प्राध्यापक प्रजापतिले प्रमुख यादवको बदनियतपूर्ण र व्यवस्थापनहीन व्यवहारले क्याम्पस पूर्ण रूपमा अस्तव्यस्त बनाएको दाबी गर्दै उनको राजीनामाको माग समेत सार्वजनिक रूपमा गरेका छन्।
उनले भने अब माग पूरा नभएसम्म हामी क्याम्पस फर्कदैनौं। यादवको राजीनामा विना समाधान सम्भव छैन।
यसैबीच, क्याम्पस प्रमुख किशोरी राय यादवले असोज २४ गतेदेखि क्याम्पस सञ्चालन हुने भन्दै सूचना जारी गरेका छन्। तर, शिक्षक तथा कर्मचारीहरूले उक्त सूचनालाई पूर्ण रूपमा अस्वीकार गर्दै माग सम्बोधन नभएसम्म कार्यमा नफर्कने अडान लिएका छन्।
क्याम्पस बन्द हुँदा हाल विद्यार्थीहरूको कक्षा र परीक्षा कार्यक्रम प्रभावित भएका छन्। अभिभावक तथा विद्यार्थीहरूले भने शिक्षक–प्रशासनबीचको विवाद छिटो समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


