अभिलाष गुप्ता
वीरगंज, २४ असोज । वीरगंजको सामाजिक संस्था परिवर्तन नेपाल फाउण्डेशनले आज वीरगंज महानगरपालिका–२६ सुगौली बिर्ता स्थित इलाका प्रहरी कार्यालयलाई विभिन्न अति आवश्यक सामग्रीहरू सहयोग स्वरूप हस्तान्तरण गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित उक्त सहयोग कार्यक्रमको उद्देश्य प्रहरी सेवामा सहयोग पुर्याउने र समुदाय–प्रहरी सम्बन्धलाई थप सुदृढ बनाउने रहेको फाउण्डेशनले जनाएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष विशेष साह, संस्थापक रणधीर वर्णवाल, सदस्यहरू बालेश्वर जैसवाल, सामाजिक अभियन्ता बिकी सर्राफ र विनय गिरी उपस्थित थिए।
सहयोगी हातका रूपमा बिमार्ट अनलाइन शपिङ, जोया फेन्सी स्टोर, र अशोक यादवले कार्यक्रमलाई सहयोग गरेका थिए।
फाउण्डेशनका अध्यक्ष विशेष साहले प्रहरी समुदाय सधैं अग्रपंक्तिमा रही जनताको सुरक्षाका लागि कार्यरत रहने भएकाले उनीहरूको आवश्यकतालाई सम्बोधन गर्नु सबैको दायित्व भएको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक एवं सहकार्यका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
यस सहयोग कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरूले परिवर्तन नेपाल फाउण्डेशन र सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै, यस्ता प्रयासहरूले समुदाय र सुरक्षाकर्मीबीच विश्वास तथा सहकार्यको वातावरण सुदृढ बनाउने विश्वास व्यक्त गरे।


