अभिलाष गुप्ता
वीरगंज, २८ असोज । सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका उद्देश्यले वीरगञ्ज महानगरपालिकाको पहलमा मंगलबार एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षता तथा उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा मेयर सिंहले सिर्सिया नदी वीरगञ्जको पहिचान र गौरवको प्रतीक भएको बताउँदै यसको संरक्षण र सरसफाइ महानगरको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, सिर्सिया नदीको संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो। महानगरले सफा र हरित वीरगञ्ज निर्माणको अभियान अघि बढाइसकेको छ, अब उद्योगहरूले पनि वातावरणमैत्री उत्पादन प्रक्रिया अपनाउँदै यस अभियानमा सहकार्य गर्नुपर्छ।
उद्योगी व्यवसायीहरूले छलफलका क्रममा आफ्ना उद्योगबाट निस्कने फोहोर र रासायनिक पदार्थको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए। उनीहरूले महानगरसँग सहकार्य गर्दै फोहोर प्रशोधन संयन्त्र र नदीमा मिसिने नालाहरूको व्यवस्थापनमा सहयोग गर्ने तयारी व्यक्त गरे।
छलफलमा सरोकारवाला निकायहरूले सिर्सिया नदीको दीर्घकालीन संरक्षणका लागि नियमित अनुगमन, जनचेतना अभिवृद्धि, र वातावरणीय नीतिको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, पर्सा उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत अर्बिन्दलाल कर्ण, र वीरगञ्जका विशिष्ट व्यापारी, वातावरणविद् तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले सिर्सिया नदीलाई स्वच्छ, हरित र प्रदूषणमुक्त बनाउन सबै पक्षको संयुक्त प्रयास अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।