वीरगंज, कार्तिक २७ । खेली मधेश, जीती मधेश’ भन्ने नाराका साथ राष्ट्रिय खेलकुद परिषद्, पर्सा जिल्ला खेलकुद विकास समितिको आयोजनामा पहिलो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। मधेश खेलकुद परिषद्को प्रथम वार्षिक उत्सवको अवसरमा खेलकुद परिषद्को कार्यालय परिसरमा सरसफाइ, पेन्ट–रोगन तथा दीप प्रज्वलन कार्यक्रम गरी मनाइएको छ।

कार्यक्रम दिपक साह कानुको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले खेलकुद क्षेत्रको सौन्दर्य वृद्धि र स्वच्छ वातावरणको सन्देशका साथ सरसफाइ अभियान सञ्चालन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानुले खेलकुदको महत्व र यसको माध्यमबाट युवामा एकता, स्वास्थ्य र अनुशासनको भावना विकासहुने कुरामा जोड दिनुभयो। उहाँले खेलकुद क्षेत्रलाई अझ सशक्त बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

त्यस्तै, खेलकुद विकास समितिका कार्यालय प्रमुख नाजिर हुसैन अन्सारीले कार्यालयमा आफ्नो जिम्मेवारी सम्हालेको दिनदेखि हालसम्मको प्रगतिबारे जानकारी दिँदै, खेलाडीहरूका लागि खानेपानीको ट्यांकीको व्यवस्था, खेल मैदान र सामग्री सुधारजस्ता गतिविधिहरू सम्पन्न भएको जानकारी दिनुभयो।

उक्त कार्यक्रममा पर्सा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष नरेश कायस्थ, जुडो खेलका वरिष्ठ प्रशिक्षक पृथ्वी आलोक, सितोरिया कराते संघका वरिष्ठ प्रशिक्षक दिलीप कुमार पटेल, जिल्ला प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी हवलदार रामबहादुर, टाइक्वान्डोका वरिष्ठ खेलाडी विक्रम डङ्ग्गोल लगायत विभिन्न खेलकुद क्षेत्रका खेलाडी, प्रशिक्षक, सञ्चारकर्मी र स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।






