अभिलाष गुप्ता
वीरगंज, ०८ मंसिर । वीरगंज महानगरपालिका–३०, लालपर्सास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई जनमत पार्टी पर्साले चार थान डेस्क–बेन्च उपलब्ध गराएको छ। लोककल्याणकारी अभियान अन्तर्गत विद्यालयमा देखिएको आवश्यकतालाई ध्यानमा राखेर अध्यक्ष ओमप्रकाश सर्राफको पहलमा डेस्क–बेन्च हस्तान्तरण गरिएको हो।
स्कुल व्यवस्थापन समिति अध्यक्ष ध्रुप महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, क्षेत्रीय संयोजक डा. मनोज सर्राफ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, नागेन्द्र यादव, महानगर उपाध्यक्ष निरन्जन कुशवाहा, युवा नेता राजन मण्डल र अनिल शर्मा सहित स्थानीय भद्रभलाद्मी, शिक्षक–शिक्षिकाको उपस्थिति थियो।

विद्यालयका प्रधानाध्यापक हेम बहादुर आचार्यले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सर्राफले शिक्षालाई समाज रूपान्तरणको आधार भन्दै विद्यालयको वातावरण सुधार गर्न सबै पक्ष मिलेर अघि बढ्नु पर्ने बताए। उनले भने “मधेस प्रदेशको शैक्षिक सूचकांक अन्य प्रदेशको तुलनामा कमजोर देखिनु चिन्ताको विषय हाे, यस्तो अवस्थामा समुदाय, स्थानीय सरकार र राजनीतिक दलले संयुक्त रूपमा विद्यालयलाई सबल बनाउन भूमिका खेल्न आवश्यक छ।”
सर्राफले आधारभूत शैक्षिक पूर्वाधार अभावले विद्यार्थीको सिकाइमा प्रभाव पर्ने भएकाले जनमत पार्टी पर्साले आफ्नै स्तरबाट सक्दो सहयोग गर्दै आएको बताए। “हामीले गरेको यो सहयोग सानो भए पनि विद्यालयको सुधारमा टेवा पुग्न सक्छ भन्ने विश्वास छ,” उनले भने।




