अभिलाष गुप्ता
वीरगंज, १२ मंसिर । लायन्स क्लब वीरगंज परिवार, लायन्स क्लब वीरगंज सेन्ट्रल सिटी, लायन्स क्लब वीरगंज मेट्रो सिटी, लायन्स क्लब वीरगंज फ्रेन्डजोन, लायन्स क्लब वीरगंज कुटुम्ब र लायन्स क्लब वीरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा सञ्चालित इन्टर कलेज वाद–विवाद प्रतियोगिताको चौथो चरण आज ब्राइट +2 कलेज, वीरगंजमा सम्पन्न भयो ।
१० वटा कलेजबीचको छनोट श्रृंखलाअन्तर्गत आजको प्रतियोगितामा ४ महिला र ४ पुरुष विद्यार्थीहरुले “डिजिटल युगमा सामाजिक सञ्जाल : युवावर्गका लागि प्रेरणा कि मानसिक तनाव?” विषयमा प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धाबाट कक्षा ११ की छात्रा इरसाद देवान तथा कक्षा ११ का छात्र शिवानी शर्मा विजेता घोषित हुँदै महिला र पुरुषतर्फबाट एक–एक जनालाई फाइनल राउन्डका लागि चयन गरिएको हो ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब वीरगंज कुटुम्बकी अध्यक्ष लायन रचना प्याकुरेलले गर्नुभएको थियो। प्रमुख अतिथि 1st Vice District Governor लायन राम बिहारी पाण्डे, विशिष्ट अतिथि उद्योग वाणिज्य संघका मनोज उपाध्याय, District Executive Chief लायन बासु तिमल्सिना, District Chief लायन श्याम गुप्ता, Region Chair person तथा कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु, लायन्स परिवारका विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारी, कलेजका डाइरेक्टर मनोज गुप्ता, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भव्यरूपमा सम्पन्न भयो ।
आयोजकहरूका अनुसार प्रतियोगिताको आगामी चरण चाँडै अन्य कलेजहरूमा निरन्तर रूपमा सञ्चालन हुँदै फाइनल राउन्डमा प्रवेश गर्ने प्रतिभाहरूको चयन प्रक्रिया जारी रहने छ ।



