अभिलाष गुप्ता
वीरगंज, १५ मंसिर । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट मानसिक अवस्था कमजोर रहेको एक पुरुषलाई मानवसेवा आश्रम बिरगंज शाखाले सोमबार उद्धार गरेको छ। दिउँसो करिब ३:१५ बजे आश्रमको टोलीले अन्दाजी ३५ वर्ष उमेरका ती पुरुषलाई उद्धार गरी सुरक्षित रूपमा आश्रममा पुगेको जानकारी दिएको छ। उद्धार गरिएको व्यक्तिले आफ्नो नाम–थर स्पष्ट बताएनन् भने मानसिक रूपमा अस्वस्थ देखिएका थिए।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव, तथा प्रहरी चौकी श्रीसियाका प्रहरीको सक्रिय सहभागिता रहेको थियो।

आश्रममा लगेपछि ती पुरुषको नुहाइ–धुहाइ तथा आवश्यक सरसफाइ गराई प्रारम्भिक हेरचाह गरिएको आश्रमले जनाएको छ। त्यसपछि डा. भरत गोईको निगरानीमा स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार सुरु गरिने बताइएको छ।
मानवसेवा आश्रमले सडकमा उद्देश्यहीन रूपमा बसेका, मानसिक असन्तुलन भएका तथा असहाय व्यक्तिहरूको उद्धार, उपचार र पुनर्स्थापनामा निरन्तर रूपमा काम गर्दै आएको छ।



