अभिलाष गुप्ता
वीरगंज, १७ मंसिर । वीरगंज–रक्सौल मितेरी पुल क्षेत्रको सौन्दर्यकरण अभियान अन्तर्गत आज घाँस रोप्ने काम औपचारिक रूपमा सुरु गरिएको छ। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष उपस्थितिमा प्रारम्भ भएको यस कार्यले सीमाक्षेत्रको सौन्दर्य वृद्धि गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ।
कार्यक्रम ग्रीनसिटीका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भयो। खेतानका अनुसार, उनीहरू करिब एक महिनादेखि लगातार नाका क्षेत्रलाई हरित र आकर्षक बनाउन लागिपरेका छन्।
खेतानले भने बिगत १ महिनादेखि हामी निरन्तर सफाइ, हरियाली र सौन्दर्यकरणमा जुटिरहेका छौँ । वीरगंजलाई सुन्दर बनाउने हाम्रो प्रयासलाई आज घाँस रोपाइँले थप गति दिएको छ।
यसैगरी, कार्यक्रमका प्रमुख अतिथि मेयर राजेशमान सिंहले सौन्दर्यकरण अभियानको प्रशंसा गर्दै सीमाक्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउनु शहरको छवि उकास्ने महत्वपूर्ण कदम भएको बताए।मेयर सिंहले भने मितेरी पुल क्षेत्र हाम्रो शहरको मुख्य प्रवेशद्वार हो। यसलाई हरियाली र सफासुन्दर बनाउन स्थानीय सरोकारवालाहरूको सहयोग प्रशंसनीय छ। महानगरपालिकाले यस्ता अभियानलाई निरन्तर साथ दिनेछ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अबिन्द लाल कर्ण, नगर प्रहरी प्रमुख भुसाल, सरसफाई प्रमुख सर्फुदिन मियाँ, नगर प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी तथा ग्रीनसिटीका पदाधिकारीहरू समेत उपस्थित थिए।
सौन्दर्यकरण अभियानले नाका क्षेत्रमा हरियाली, आकर्षकता र व्यवस्थितता बढ्ने विश्वास आयोजकले गरेका छन्।





