अभिलाष गुप्ता
वीरगंज, १७ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत ‘मदरसा शिक्षा सम्बन्धी विधेयक’ लाई सैद्धान्तिक स्वीकृति दिएपछि वीरगंजमा यसको व्यापक प्रतिवाद भएको छ। निर्णय सार्वजनिक भएलगत्तै विश्व हिन्दू परिषद् नेपाल, वीरगंजले बृहत् विरोध प्रदर्शनसहित मुख्यमन्त्री यादवको पुत्ला दहन गर्दै कडा आपत्ति जनाएको हो ।
प्रदर्शनकारीहरूका अनुसार मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको आदेश विपरीत मन्त्रिपरिषद् बैठकमार्फत ६ बुँदे निर्णय पारित गराएको आरोप लागेको छ। उनीहरूका कथनमा, शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशलाई ‘मदरसा शिक्षा विधेयक’ को प्रारम्भिक मस्यौदा तयार पार्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ, जसको प्रक्रिया नै विवादास्पद रहेको दाबी गरिएको छ ।
यसअघि लालबाबु राउत नेतृत्वको सरकारले पनि मदरसा शिक्षा विधेयक अघि बढाउने प्रयास गरेको थियो। तर, त्यतिबेला व्यापक जनआक्रोश, असन्तुष्टि र विभिन्न समुदायको चर्को विरोधका कारण विधेयक स्थगित भएको थियो। सोही प्रसंग स्मरण गर्दै प्रदर्शनकारीहरूले अहिले पुनः त्यही विवादित विधेयक अगाडि सारिनु प्रदेशको सामाजिक संवेदनशीलता र धार्मिक सद्भावमाथिको गम्भीर चुनौती भएको अभिव्यक्ति दिएका छन् ।
दिउसोतिर वीरगंजको घण्टाघर क्षेत्रबाट सुरु भएको मशाल जुलुसमा ठूलो संख्यामा स्थानीयवासी, विभिन्न सामाजिक समूहका प्रतिनिधि, परिषद्को स्थानीय नेतृत्व तथा समर्थकहरूको सहभागीता थियो ।
जुलुसका सहभागीहरूले शिक्षा प्रणालीलाई धार्मिक आधारमा विभाजन गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने,प्रदेशमा धार्मिक मिलनसारिता र बहुलवादमा धक्का लाग्ने,सामाजिक सामन्जस्यमा गम्भीर असर पर्न सक्ने जस्ता चेतावनीहरू दिए ।
प्रदर्शनकारीहरूले मदरसा शिक्षा विधेयकलाई तत्काल खारेज गर्न प्रदेश सरकारसमक्ष माग राखे। उनीहरूको भनाइमा अदालतको आदेश र जनभावनालाई बेवास्ता गर्दै सरकार अगाडि बढेको छ, जसले आगामी दिनमा थप असन्तुष्टि र उथलपुथल निम्त्याउन सक्छ।
विरोध–प्रदर्शन, जुलुस र पुत्ला दहन कार्यक्रम शान्तिपूर्ण तर उत्तिकै उत्साहपूर्ण माहोलमा सम्पन्न भएको बताइएको छ। वीरगंजमा चर्किएको यस्तो असन्तुष्टिले आगामी दिनमा प्रदेश सरकार र सरोकारवालाबीच थप बहस–विमर्श र राजनीतिक तानातान बढ्ने संकेत गरेको छ।




