अभिलाष गुप्ता
रक्सौल, पुर्वी चम्पारण २० मंसिर । स्वच्छ रक्सौल संस्था द्वारा आयोजित कार्यक्रममा महिलाहरूलाई सुरक्षित आश्रय तथा सीप विकास प्रशिक्षण प्रदान गर्ने उद्देश्यले स्थापन गरिएको सेल्टर होम सह प्रशिक्षण केन्द्रको भव्य उद्घाटन सम्पन्न भएको छ ।
उद्घाटन एसडीएम मनीष कुमार, एसएसबीका इन्स्पेक्टर विकास कुमार, राजकीय रेल थानाध्यक्ष पवन कुमार, भाजपा महामन्त्री पार्वती तिवारी तथा लायन्स क्लबका अध्यक्ष विमल सर्राफले संयुक्त रूपमा गरे ।
यस सेल्टर होमको मुख्य उद्देश्य पीडित, गरीब तथा असहाय महिलालाई सुरक्षित राख्दै साना कुटिर उद्योग, सिलाइ–कटाइ जस्ता सीप प्रशिक्षण प्रदान गरी आत्मनिर्भर बनाउनु रहेको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एसडीएम मनीष कुमारले स्वच्छ रक्सौलद्वारा सञ्चालित यो पहल निकै सराहनीय भएको बताए। उनले प्रशिक्षणमार्फत असहाय महिलालाई आत्म निर्भर बनाउने कार्यमा अनुमण्डल प्रशासन सधैँ सहयोगी रहने प्रतिवद्धता व्यक्त गरे ।
उनका अनुसार यस्तो केन्द्र संचालनले सडकमा लावारिस अवस्थामा भौँतारिइरहेका महिलालाई रोजगार तथा सम्मानजनक जीवन जिउने अवसर मिल्नेछ ।
एसएसबी इन्स्पेक्टर विकास कुमारले महिलालाई निःशुल्क आश्रय, भोजन तथा प्रशिक्षण उपलब्ध गराउनु “जीवनदान समान” मानिँने कार्य भएको बताए ।
जीआरपी थानाध्यक्ष पवन कुमारले स्वच्छ रक्सौलले विगतदेखि नै पीडित महिलाको उद्धार तथा लावारिस शवको अन्त्येष्टि जस्ता सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै अब सञ्चालनमा आएको सेल्टर होमले महिला लाई आत्मनिर्भर बन्ने महत्वपूर्ण अवसर दिने बताए ।
लायन्स क्लबका अध्यक्ष विमल सर्राफ, भाजपा नेतृ पार्वती तिवारी तथा जदयू नेता तथा समाजसेवी सुरेश कुमारले पनि कार्यक्रम लाई सम्बोधन गर्दै सेल्टर होमलाई आवश्यक सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रमका प्रमुख संचाल तथा स्वच्छ रक्सौलका अध्यक्ष रञ्जित सिंहले उपस्थित अतिथि तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै मानसिकरूपले आहत रिहाना खातुन, रक्सौल रेल स्टेशनबाट उद्धार भएकी मरियम, ससुरालीजनबाट पीडित रेणु कुमारी लगायत धेरै महिलाहरूको अवस्थाबारे चर्चा गरे ।
उनका अनुसार—
यस केन्द्रमा घरेलु हिंसा, सामाजिक उपेक्षा तथा मानसिक तनावबाट पीडित महिलालाई सुरक्षित आश्रय मात्र नभई सीप प्रशिक्षण मार्फत आत्मनिर्भर बनाइनेछ । साथै, उनीहरू लाई परिवारसँग पुनः मेलमिलाप गराई समाजमा सम्मानजनक जीवन स्थापित गर्न सहयोग गरिनेछ ।
कार्यक्रममा लायन्स क्लबका अध्यक्ष विमल सर्राफ, सुरेश साह, पंकज रूंगटा, राजकुमार, अमलेश श्रीवास्तव, डा. विनोद कुमार, डा. मनीष कुमार, पार्वती तिवारी, कृष्ण आनन्द, फायर अफिसर पवन कुमारसहित अनेकौं व्यक्तिहरूको उपस्थिति रहेको थियो ।



