अभिलाष गुप्ता
वीरगंज, २४ मंसिर । वीरगंज महानगरलाई बैंकहरूद्वारा ९ थान कम्प्युटर सहयोग महानगरपालिकालाई शहरभर रहेका विभिन्न बैंकहरूले ९ थान कम्प्युटर सहयोगस्वरूप हस्तान्तरण गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, सिटिजन इन्टरनेशनल र प्राइम कमर्सियल बैंकले एक–एक थान गरी कम्प्युटर प्रदान गरेका हुन्।
गत भदौ २३ र २४ गते ‘जेन्जी’ आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण महानगर भवन तथा कार्यालयका धेरै सामग्री नष्ट भएपछि सेवाप्रवाह प्रभावित बनेको थियो। यही अवस्थालाई सामान्य बनाउन बैंकहरूको संयुक्त पहलमा सहयोग उपलब्ध गराइएको हो। यस सहयोगमा महानगरका सद्भावना दूत अशोक वैद्यको महत्वपूर्ण पहल रहेको बताइएको छ।

कम्प्युटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले संकटको घडीमा निरन्तर साथ दिँदै आएको बैंकहरूको उदार सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने—
“महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो कठिन समयमा बैंकहरूले प्रदान गरेको साथले पुनः उठ्ने ऊर्जा र हिम्मत दिएको छ।”
त्यसैगरी बैंकर एसोसिएशन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगञ्ज शाखा प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा दिन बैंकहरू सदैव तैयार रहेको उल्लेख गर्दै आवश्यक उपकरण प्रदान गर्नु आफ्नो संस्थागत दायित्व भएको बताए।
यसअघि पनि सूर्या नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाललगायत विभिन्न संघ–संस्थाले कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सहयोग गरिसकेका छन्।




