अभिलाष गुप्ता
वीरगंज, २५ मंसिर । आज जनता समाजवादी पार्टी (जसपा) पर्साले बसेको जिल्ला समितिको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका ४ वटै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।
जसपा जिल्ला समिति, पर्साले आह्वान गरेको उक्त वैठकमा वर्तमान राजनीतिक परिस्थिति, आगामी निर्वाचनको तयारी, पार्टी एकता, मोर्चागत सहकार्य लगायतका विषयमा विस्तृत छलफल सम्पन्न भयो । पार्टी संगठनलाई सुदृढ गर्दै मतदाता विश्वास जित्ने उद्देश्यले उम्मेदवार सिफारिस प्रक्रियामा सर्वसम्मति कायम गरिएको बैठकले जनाएको छ ।

बैठकमा प्रदीप यादव र राजेशमान सिंहको विशेष उपस्थिति रहेको थियो । साथै पार्टीका विभिन्न तह–स्तरका पदाधिकारी तथा कार्यकर्ताहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भयो ।
बैठकपछि जसपा पर्साले सबैको सक्रियता, समर्पण र एकताले पार्टीलाई अझ सबल बनाउने विश्वास व्यक्त गर्दै यसपटक साझा लक्ष्य, समान विचारधारा र जनताको आकांक्षा अनुरूप समृद्धि तथा प्रगतिपथतर्फ अघि बढ्ने दृढता व्यक्त गरेको छ ।




