वीरगंज, पुस ३ । राजस्व छलेर भित्र्याइएको आशंकामा प्रहरीले वीरगंजबाट करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १८०० बोरा सुपारी बरामद गरेको छ ।
वीरगंज महानगरपालिका–२ बाइपास सडकस्थित निशान्त रनावतको उद्योगको गोदाम तथा गोदाम अगाडि रोकिराखिएको दुई वटा कन्टेनर गाडीबाट बिहीबार उक्त परिमाणको सुपारी बरामद गरिएको हो ।
पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार तेस्रो मुलुकबाट वीरगंज भन्सार नाका हुँदै भित्र्याइएको सुपारी महोत्तरीको बर्दिवासतर्फ लैजानुपर्ने भए पनि कन्टेनरबाट अनलोड गरी वीरगंजको गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
प्रहरी उपरीक्षक पाठककै नेतृत्वमा खटिएको टोलीले गोदाम अगाडि रोकि राखिएको ना. ७ ख ७४२० र ना. ४ ख ६८३२ नम्बरका कन्टेनर गाडीबाट ९०० बोरा तथा गोदामभित्र भण्डारण गरिएको ९०० बोरा गरी कूल १८०० बोरा सुपारी नियन्त्रणमा लिएको हो ।

घटनामा संलग्न रहेको आरोपमा ती कन्टेनरका चालकद्वय बाराको जीतपुरसिमरा उपमहा नगर पालिका–२० का ४१ वर्षीय रामभरोस महरा र वडा नम्बर १९ का ५१ वर्षीय रामप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद सुपारीसहित दुवै कन्टेनर गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिहीबार नै राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।
भन्सार कागजातमा सुपारीको अन्तिम गन्तव्य महोत्तरी उल्लेख भए पनि सिधै त्यहाँ नपठाई वीरगंजमै कन्टेनर खोलेर गोदाममा भण्डारण गरिएको देखिएपछि शंकास्पद ठानी नियन्त्रण मा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार बरामद सुपारी निशान्त रनावत नामक व्यापारीको रहेको र उनी सुपारी सहितका सामानको अवैध कारोबारमा संलग्न रहँदै आएको आशंका छ । कागजात वैध देखिए पनि सुपारी भारततर्फ अवैध निर्यात गर्ने तयारी भइरहेको सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



