अभिलाष गुप्ता
वीरगंज, ०७ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजद्वारा आयोजित दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार छैटौँ दिन पाँच वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । छैटौँ दिनको पहिलो खेल छात्रातर्फ सनलाइट सेकेन्डरी स्कुल र माउन्ट एडमन्ड सेकेन्डरी स्कुलबीच सम्पन्न भयो, जसमा माउन्ट एडमन्ड सेकेन्डरी स्कुलले १० विकेटको शानदार जित दर्ता गर्यो । उक्त खेलकी प्लेयर अफ द म्याच स्मृति बुलन घोषित भइन् ।
जुनियर छात्रतर्फको दोस्रो खेलमा ब्लु हेभन स्कुल र नेशनल ओपन मोडल स्कुलबीच प्रतिस्पर्धा भएको थियो । खेलमा ब्लु हेभन स्कुलले ४७ रनको फराकिलो जित हात पार्यो । यस खेलका प्लेयर अफ द म्याच सिद्धान्त पटेल घोषित भए । तेस्रो खेल छात्रातर्फ मिनिल्यान्ड सेकेन्डरी स्कुल र मनकामना सेकेन्डरी स्कुलबीच सम्पन्न भयो । कडा प्रतिस्पर्धात्मक खेलमा मिनिल्यान्ड सेकेन्डरी स्कुलले मनकामना सेकेन्डरी स्कुललाई १९ रनले पराजित गर्यो । खेलकी उत्कृष्ट खेलाडी प्रिमा थारु भइन् ।
चौथो खेल जुनियर छात्रतर्फ गुरुकुल एकेडेमी र सूर्योदय सेकेन्डरी स्कुलबीच भएको थियो। यस खेलमा सूर्योदय सेकेन्डरी स्कुलले ७ विकेटको सहज जित दर्ता गर्यो । खेलका प्लेयर अफ द म्याच सोहाइल देवान बने ।
छैटौँ दिनको अन्तिम खेल छात्रातर्फ आचार्य एकेडेमी र लिटल एन्जेल्स सेकेन्डरी स्कुलबीच सम्पन्न भयो । खेलमा लिटल एन्जेल्स सेकेन्डरी स्कुलले ३३ रनको जित हात पार्यो । उक्त खेलका प्लेयर अफ द म्याच आदित्य कुमार साह घोषित भए ।
आयोजकका अनुसार वीरगंजमा सञ्चालन भइरहेको यस प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूको प्रतिभा प्रस्फुटन, खेलकुद भावना विकास, अनुशासन तथा टिमवर्क अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ । प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन हुने प्याब्सन वीरगञ्जले जनाएको छ ।




