अभिलाष गुप्ता
वीरगंज, ०८ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनमत पार्टीले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । मंसिर २९ गते सम्पन्न जनमत पार्टीको क्षेत्रीय बैठकले पर्साका चार वटै निर्वाचन क्षेत्रका लागि कुल ८ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
सिफारिसअनुसार पर्सा क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र केन्द्रीय सदस्य श्यामप्रसाद गुप्ताको नाम अघि सारिएको छ । पर्सा क्षेत्र नम्बर २ बाट पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतसहित केन्द्रीय सदस्य अनुराग द्विवेदी, हरिहर प्रसाद साह र बृजकिशोर प्रसाद कलवारको नाम सिफारिस गरिएको छ ।

यसैगरी पर्सा क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य मालती कुमारी कुशवाहा र क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य सीमादेवी कलवारको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।
पार्टीले संगठन सुदृढीकरण र जनसमर्थनलाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको जनाएको छ। अन्तिम उम्मेदवारको टुंगो पार्टीको केन्द्रीय निर्णयबाट लाग्ने बताइएको छ ।



