वीरगंज, ०९ पुस । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका दुई कैदीलाई प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ ।
भदौ २३ गते आन्दोलनको क्रममा फरार भएका बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ का २५ वर्षीय सुदामा पासवानलाई सोमबार वीरगंज महानगरपालिका–१५ स्थित भिष्वा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पासवान कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए ।

त्यसैगरी, भदौ २४ गते फरार भएका बारा परवानीपुर गाउँपालिका–२ का ३२ वर्षीय विवेकलाल शाह कानुलाई पनि प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा ५० हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि उच्च अदालत पाटनको आदेशअनुसार सुन्धारा कारागार चलान गरिएका शाह कानुलाई वीरगंज–४ बिर्ता टोलबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै कैदीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगंज कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन् ।



