वीरगंज, १२ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीभित्र गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेसँगै वीरगंजमा कांग्रेस कार्यकर्ताहरूबीच उत्साह र खुशियाली छाएको छ ।
नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी तथा पर्सा क्षेत्र नं. १ का सभापति अरबिन्द कुमार गुप्तामाथि लगाइएको कारबाही फिर्ता भएको समाचार सार्वजनिक भएपछि उनीहरू निकट नेता तथा कार्यकर्ताहरूले खुशी व्यक्त गरेका हुन् । निर्णयको खबर फैलिनासाथ वीरगंजको मुर्लीचोक क्षेत्रमा भेला भएका कांग्रेस कार्यकर्ताहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै पार्टीको भविष्यप्रति आशा व्यक्त गरेका थिए ।

कार्यकर्ताहरूले केन्द्रीय नेतृत्वको निर्णयलाई सकारात्मक, समयानुकूल तथा पार्टी एकता बलियो बनाउने कदमका रूपमा मूल्यांकन गरेका छन् । उनीहरूको धारणा अनुसार कारबाही फुकुवाले पार्टीभित्र देखिएको असन्तुष्टि कम भई संगठनलाई थप मजबुत बनाउनेछ ।
यस निर्णयपछि पर्सा जिल्लामा लामो समयदेखि देखिँदै आएको आन्तरिक असन्तोष कम हुने र नेपाली कांग्रेसका संगठनात्मक गतिविधिहरू अझ सक्रिय तथा प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । पार्टीलाई आगामी राजनीतिक चुनौतीहरू सामना गर्न एकताबद्ध भएर अघि बढ्न यस निर्णयले सहयोग पुग्ने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।



