अभिलाष गुप्ता
वीरगंज, १३ पुष । सशस्त्र प्रहरी बल (APF), नेपालका वर्तमान प्रहरी महानिरीक्षक (IGP) राजु अर्यालले वीरगंज–रक्सौलस्थित अन्तर्राष्ट्रिय मितेरी पुल क्षेत्र वरिपरि गरिएको सौन्दर्यकरण कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले सीमा क्षेत्रको सुरक्षा, सरसफाइ तथा व्यवस्थित पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको हो ।
महानिरीक्षक अर्यालले नेपाल–भारत सीमा क्षेत्र देशको पहिचानसँग जोडिएको संवेदनशील स्थान भएको उल्लेख गर्दै यहाँको वातावरणीय सौन्दर्य, स्वच्छता र सुरक्षा व्यवस्थापन सुदृढ हुन जरुरी रहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हरियाली प्रवर्द्धन, सार्वजनिक स्थानको संरक्षण तथा दीर्घकालीन व्यवस्थापनमा सबै सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

हामी सबैको जीवनमा हरियाली र प्रकृतिको महत्व अनमोल रहेको सन्देशसहित बीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर तथा सशस्त्र प्रहरी बल १३ नम्बर गण, बिरगंजको संयुक्त आयोजनामा सञ्चालन गरिएको अभियानले वीरगंजलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर बनाउने लक्ष्यलाई थप बल पुगेको आयोजकहरूले बताएका छन् । उनीहरूका अनुसार यस अभियानमार्फत सीमा क्षेत्रमा सकारात्मक सन्देश फैलिनुका साथै स्थानीय समुदायको सहभागिता समेत बढ्दै गएको छ ।
आज सम्पन्न निरीक्षण कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख मेयर राजेशमान सिंह, सशस्त्र प्रहरीका एसपी पुरन चन्द भट्ट, सशस्त्र प्रहरीका डीएसपी पुरुषोत्तम भण्डारी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी, रक्सौलका सिमा सुरक्षाबलका पदाधिकारी लगायत सामुदायिक प्रहरीका पदाधिकारी, बीरगंज महानगरका नगरप्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सीमा क्षेत्रको सौन्दर्यकरणले सुरक्षा मात्र होइन, पर्यावरण संरक्षण र नागरिक सचेतनामा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।



