अभिलाष गुप्ता
वीरगंज, १४ पुष । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगंजको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत आदर्शनगरस्थित रंगशालामा विभिन्न विद्यालय बीचका रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् । प्रतियोगितामा छात्र तथा छात्रा दुवै समूहका टोलीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका छन् ।
छात्रतर्फको पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले मनकामना मावि स्कुललाई ७ विकेटले पराजित गर्दै सहज जित निकालेको थियो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितिस पटेल म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा हेबेन एकेडेमी स्कुलले लिटिल फ्लावर सेकेन्डरी स्कुललाई ४८ रनले पराजित गर्यो। यस खेलका उत्कृष्ट खेलाडी पृथ्वी पटेल म्यान अफ द म्याच घोषित भए ।
छात्रातर्फको तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी सेकेन्डरी स्कुललाई १२ रनले हराउँदै जित हात पार्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीति साहनी म्यान अफ द म्याच घोषित भइन् ।

छात्रतर्फको अर्को खेलमा मनकामना मावि र लिटिल फ्लावर सेकेन्डरी स्कुलबीच भएको प्रतिस्पर्धा सुपर ओभरसम्म पुगेको थियो। रोमाञ्चक सुपर ओभरमा मनकामना माविले बाजी मार्दै खेल जित्न सफल भयो ।
यसैगरी, छात्रातर्फको अर्को खेलमा एसआर ग्यालेक्सी सेकेन्डरी स्कुलले बिकन एकेडेमी स्कुललाई ८ विकेटले पराजित गर्यो। उक्त खेलकी म्यान अफ द म्याच दीक्षा गिरी घोषित भइन् ।
छात्रतर्फको पाँचौँ खेलमा एसआर ग्यालेक्सी स्कुलले गोल्डेन फ्युचर एकेडेमी स्कुललाई १५ रनले हरायो । यस्तै अर्को खेलमा लिटिल फ्लावर सेकेन्डरी स्कुलले गोल्डेन फ्युचर एकेडेमी स्कुललाई ७ विकेटले पराजित गर्दै जित दर्ता गर्यो । यस खेलका म्यान अफ द म्याच राजन साह घोषित भए ।
प्याब्सन वीरगंज महानगर सचिव अमित आलोकले प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने जानकारी दिनुभयो ।



