अभिलाष गुप्ता
रक्सौल, ०२ माघ । मकर संक्रान्तिको पावन अवसरमा अखिल भारतीय मारवाडी महिला सम्मेलन रक्सौल शाखाको आयोजनामा न्यानो कम्बल तथा नगद वितरण कार्यक्रम सम्पन्न भएको छ । सम्मेलनकी अध्यक्षा सोनू काबराको नेतृत्वमा कडाकेको चिसोबाट प्रभावित गरिब, असहाय तथा अपाङ्ग व्यक्तिहरूलाई लक्षित गरी उक्त सेवा कार्यक्रम सञ्चालन गरिएको हो ।
कम्बल तथा नगद वितरण रक्सौल शहरको रेलवे स्टेशन, मैत्री पुल नजिकको मन्दिर परिसर तथा अनुमण्डलीय अस्पताल क्षेत्रका निराश्रित, गरिब र आर्थिक रूपमा कमजोर व्यक्तिहरूबीच गरिएको थियो। यस कार्यक्रममार्फत सयौँ आवश्यकतामा रहेका व्यक्तिहरूले राहत पाएका छन् ।
कार्यक्रमका क्रममा अध्यक्षा सोनू काबराले मारवाडी महिला सम्मेलनले आफ्ना सेवाभावी तथा समर्पित कार्यकर्ताहरूको सहयोगमा अनुमण्डल क्षेत्रमा निरन्तर सेवा कार्य गर्दै आएको बताउनुभयो ।
उहाँका अनुसार उक्त कार्यक्रम संगठनको “सेवाबाट सन्तोष” अभियानअन्तर्गत सञ्चालन गरिएको हो, जसको उद्देश्य कमजोर वर्गका मानिसहरूलाई सहयोग पुर्याउनु रहेको छ ।
सम्मेलनकी पूर्व अध्यक्षा वीणा गोयलले “मानव सेवा नै माधव सेवा हो” भन्ने भावनालाई आत्मसात् गर्दै सम्मेलनका सदस्यहरू विभिन्न सेवा परियोजनामार्फत सामाजिक सेवा, स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि, वातावरण संरक्षण, राष्ट्रप्रेमको भावना विकास तथा क्षेत्रका नौनिहालहरूमा शिक्षा र सृजनशीलता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
उक्त कार्यक्रम सफल बनाउन अध्यक्ष सोनू काबरा, पूर्व अध्यक्ष वीणा गोयल, सचिव संगीता धनोठिया, कोषाध्यक्ष संगीता रुंगटा, नेत्रदान प्रमुख रचना रुंगटा, अंगदान प्रमुख सुशीला अग्रवाल, शिखा रञ्जन, सुमन अग्रवाल, आशा अग्रवाल तथा सारिका अग्रवाललगायतको उल्लेखनीय योगदान रहेको थियो ।





