अभिलाष गुप्ता
रक्सौल, २९ माघ । सीमावर्ती शहर रक्सौलको नागा रोडस्थित प्रजापति ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको उपसेवा केन्द्र ‘सुख शान्ति भवन’मा बिहीबार महाशिवरात्रि तथा ९०औँ त्रिमूर्ति शिव जयन्तीको पावन अवसरमा शिव अवतरण एवं आध्यात्मिक सशक्तीकरण महापर्व श्रद्धा, भक्ति र आध्यात्मिक उल्लासका साथ मनाइएको छ।
कार्यक्रमको शुभारम्भ ध्वजारोहण समारोहबाट गरिएको थियो। आध्यात्मिक ध्वज फहराउँदै शिवशक्तिको दिव्य सन्देश जन–जनसम्म पुर्याउने संकल्प लिइयो। त्यसपछि निकालिएको नगर परिक्रमा (नगर भ्रमण)का क्रममा शिवभक्तिको जयघोषले वातावरण गुन्जायमान बन्यो र श्रद्धालुहरूमा उत्साह थपियो।
यस अवसरमा उपस्थित अतिथिहरूलाई पुष्पमाला, अंगवस्त्र तथा स्मृति चिन्ह प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा वीरगंज (नेपाल) शाखाकी प्रमुख रवीना दीदी विशेष रूपमा सहभागी भइन्। उनले आफ्नो ओजस्वी, सरल र रसपूर्ण अमृतवाणीमार्फत शिव अवतरणका दिव्य रहस्य तथा आध्यात्मिक सशक्तीकरणको महत्वबारे प्रकाश पारिन्। उनको प्रेरणादायी प्रवचनले सत्संग भवनमा उपस्थित श्रद्धालुहरूको मन–मस्तिष्कलाई गहिरो रूपमा स्पर्श गर्दै वातावरणलाई दिव्य अनुभूतिले सराबोर बनाएको थियो।
सुमधुर भजनहरूको मधुर धुनबीच शिव जयन्तीको प्रतीक स्वरूप केक काटिएको थियो, जसलाई श्रद्धालुहरूबीच वितरण गरियो। कार्यक्रमको समापनमा महाप्रसाद वितरण गरिएको थियो, जसमा ठूलो संख्यामा श्रद्धालुहरूले सहभागिता जनाए।
सम्पूर्ण आयोजना आध्यात्मिक ऊर्जा, भक्ति र उत्साहको अनुपम संगमका रूपमा सम्पन्न भएको थियो, जसले उपस्थित श्रद्धालुहरूमा आत्मिक जागरणको नयाँ ऊर्जा सञ्चार गरेको आयोजकले जनाएका छन्।
गरिमामय कार्यक्रममा बी.के. आकाश भ्राता, भरत प्रसाद गुप्ता, रजनीश प्रियदर्शी, अरुण कुमार गुप्ता, अरविन्द जायसवाल, अमरदीप गुप्ता, प्रीति सर्राफलगायत अन्य गण्यमान्य श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







