वीरगंज, १४ फागुन । अनिल रुङटाको घरदैलो अभियान लक्ष्मणवामा दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ। नेपाली कांग्रेस पर्सा–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुङटा वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ अन्तर्गत पर्ने लक्ष्मणवामा मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा घरदैलो कार्यक्रममा सक्रिय रूपमा सहभागी भइरहेका छन्।
स्थानीय टोलटोलमा पुगेर नागरिकका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले लक्ष्मणवामा चुनावी माहोल थप उत्साहपूर्ण बनेको देखिएको छ।
वडा नम्बर–१५ का विभिन्न टोलहरूमा पुगेर रुङटाले जनतासँग प्रत्यक्ष संवाद गर्दै समृद्ध वीरगञ्ज निर्माणका लागि साझा सहकार्य आवश्यक रहेको धारणा राखे। स्थानीयवासीहरूले आफ्नो क्षेत्रको दीगो विकास, सुशासन र पारदर्शिताका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रुङटाप्रति समर्थन जनाएका छन्।
त्यसैगरी महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले महिला उद्यमशीलता प्रवर्द्धन गर्दै आयआर्जनका कार्यक्रमसँग जोडिने योजनामा विशेष ध्यान दिइने रुङटाले बताए। उनले सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, साना तथा मझौला उद्यम प्रवर्द्धन तथा महिला सहकारी सशक्तीकरणमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउने प्रतिबद्धता जनाए। “महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन,” उनले भने, “घरपरिवारदेखि समाज र राष्ट्र निर्माणसम्म महिलाको भूमिका महत्वपूर्ण छ, त्यसैले अवसर र पहुँच सुनिश्चित गरिनेछ।”
रुङटाले युवा स्वरोजगार, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष पहल गरिने बताए। आगामी निर्वाचनमा मतदाताले विकास र स्थायित्वको पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।








