अभिलाष गुप्ता
वीरगंज, १८ बैशाख । वीरगंजमा विश्व शान्तिनायक भगवान बुद्धको २५७० औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। वीरगंज बौद्ध समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, बौद्ध धर्मावलम्बी तथा विभिन्न क्षेत्रका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात बुद्ध वन्दना तथा त्रिशरण मन्त्र उच्चारणसँगै गरिएको थियो। त्यसपछि वीरगञ्जको माइस्थानबाट शान्ति र्याली निकालिएको थियो। र्याली घण्टाघर, बसपार्क हुँदै भिसुवा डाँडामा पुगेर समापन गरिएको आयोजकले जनाएको छ। र्यालीमा सहभागीहरूले शान्ति, सहिष्णुता र मानवताको सन्देश प्रवाह गरेका थिए।
कार्यक्रम संयोजक रुपेश मानन्धरको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य रहेका थिए। साथै विशिष्ट अतिथिका रूपमा समाजसेवी जसपाल सिंह, राम बहादुर लामा, वीरगञ्ज जेसिजका निवर्तमान अध्यक्ष सरोज चौरसिया, प्याब्सन वीरगंज अध्यक्ष राहुल श्रीवास्तव, वरिष्ठ उपाध्यक्ष सुशिला साह लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि डा. शाक्यले भगवान बुद्धका उपदेश आजको विश्वका लागि अझ सान्दर्भिक रहेको बताए। उनले हिंसा, द्वन्द्व र अशान्तिबाट ग्रसित समाजलाई बुद्धको करुणा, मैत्री र मध्यम मार्गले मात्र सही दिशा दिन सक्ने उल्लेख गरे।उनले भने, “बुद्ध केवल एक धर्मका गुरु होइनन्, उहाँ सम्पूर्ण मानव जातिका मार्गदर्शक हुनुहुन्छ। बुद्धका विचारलाई व्यवहारमा उतार्न सके समाजमा शान्ति, समानता र सद्भाव कायम हुन्छ।”
डा. शाक्यले युवापुस्तालाई बुद्धका शिक्षा अध्ययन गरी नैतिकता, अनुशासन र मानवीय सेवामा प्रेरित हुन आग्रह समेत गरे।कार्यक्रम सञ्चालन बिपिसीका प्रोफेसर डा. अर्बिन्द श्रेष्ठले गरेका थिए। कार्यक्रममा सहभागीहरूले बुद्ध जयन्तीले समाजमा शान्ति र एकताको भावना अझ मजबुत बनाएको बताएका थिए।








