उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले बिहीबार पर्सा जिल्ला अदालतको यसअघिको थुनछेक आदेश बदर गर्दै चौधरीसँग २ लाख ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो । अदालतका सूचना अधिकारी ध्रुव सुबेदीका अनुसार चौधरी विरुद्धको मुद्दामा जिल्ला अदालतको निर्णय उल्ट्याउँदै उनलाई धरौटीमा छाड्न आदेश दिइएको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट नेकपाका उम्मेदवार रहेका चौधरीलाई निर्वाचन हुनुभन्दा दुई दिनअघि पर्सागढी नगरपालिका–३ बडनिहार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । उनी सवार गाडीबाट विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद सामग्री फेला परेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसअघि पर्सा जिल्ला अदालतले चैत १२ गते चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध चौधरी पक्ष उच्च अदालत पुगेको थियो । चौधरीको तर्फबाट अधिवक्ता रामचन्द्र सिंह र सुधिर कुमार कर्णले बहस गरेका थिए भने सरकारका तर्फबाट उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठले बहस गरेका थिए ।
उक्त मुद्दाका अन्य प्रतिवादी सत्यनारायण दास थारु र सुरज कार्कीको हकमा भने जिल्ला अदालतकै आदेशलाई उच्च अदालतले सदर गरेको जनाएको छ । चौधरीसँगै पक्राउ परेका सहाब आलम अन्सारीसहित अन्य प्रतिवादीलाई यसअघि नै जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।







