अभिलाष गुप्ता
वीरगंज, ३० जेष्ठ । वीरगंज महानगरपालिका–१६ नगवास्थित नवस्थापित वृद्धाश्रमको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
समाजमा बढ्दो वृद्धजनको संरक्षण, हेरचाह तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त वृद्धाश्रमको उद्घाटन मधेश प्रदेशका प्रथम तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
समारोहलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री राउतले बदलिँदो सामाजिक संरचना, व्यस्त जीवनशैली तथा वैदेशिक रोजगारीका कारण परिवारभित्र वृद्ध आमाबुबाको उचित हेरचाह गर्न कठिनाइ बढ्दै गएको बताए। उनले आधुनिक समयको आवश्यकतालाई ध्यानमा राख्दै वृद्धाश्रमहरू समाजका लागि महत्वपूर्ण संरचनाका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।
“पहिले संयुक्त परिवारमा वृद्ध आमाबुबाको हेरचाह सहज हुन्थ्यो, तर अहिलेको परिवेशमा छोराछोरी तथा बुहारीहरूलाई समेत विभिन्न जिम्मेवारीका कारण पर्याप्त समय दिन कठिन भइरहेको छ,” उनले भने, “यही कारणले वृद्धाश्रमको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ।”
राउतले आफू मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा प्रदेशका कम्तीमा तीन स्थान—वीरगंज, जनकपुर र राजविराजमा व्यवस्थित वृद्धाश्रम स्थापना गर्ने योजना बनाएको स्मरण गरे। तर विभिन्न परिस्थितिका कारण उक्त योजना पूर्णरूपमा कार्यान्वयन हुन नसकेको उनले बताए। आगामी दिनमा पनि वृद्धाश्रमको विकास, विस्तार तथा व्यवस्थापनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष पर्शुराम चौरसियाले वृद्धाश्रमको भौतिक पूर्वाधार अझ सुदृढ बनाउन आवश्यक रहेको बताए। उनले निर्माणाधीन संरचनाहरू सम्पन्न गर्न तथा वृद्धाश्रमका लागि आवश्यक सवारी साधन व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने आश्वासन दिए। साथै वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे।
वृद्धाश्रमका अध्यक्ष नन्दलाल राउत अहिरले वृद्धाश्रम सञ्चालनका लागि समाजका सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए। उनले आश्रममा आश्रय लिइरहेका वृद्ध आमाबुबाको दैनिक हेरचाह, स्वास्थ्य सेवा तथा अन्य व्यवस्थापनका लागि आर्थिक तथा भौतिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहयोगी मन भएका व्यक्ति तथा संस्थाहरूलाई साथ दिन आग्रह गरे।
उनले वृद्धाश्रमलाई केवल आश्रयस्थल मात्र नभई वृद्धजनलाई सम्मान, सुरक्षा र आत्मीयता प्रदान गर्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
उद्घाटन समारोहमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जन, विश्रामपुर गाउँपालिका–२ का वडा अध्यक्ष मनोज यादव, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी तथा वृद्धाश्रममा आश्रय लिइरहेका वृद्ध आमाबुबाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले वृद्धजनप्रति सम्मान, संरक्षण र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न यस्ता संस्थाहरूको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरेका थिए। उनीहरूले परिवार र समाजबाट उपेक्षित हुन पुगेका वृद्धजनलाई सुरक्षित तथा सम्मानजनक वातावरण उपलब्ध गराउन राज्य, स्थानीय तह, सामाजिक संस्था र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
नगवामा सञ्चालनमा आएको उक्त वृद्धाश्रमले क्षेत्रका असहाय, एक्लो तथा संरक्षणको आवश्यकता भएका वृद्धजनलाई आश्रय, सेवा र सहारा प्रदान गर्ने विश्वास गरिएको छ। स्थानीयवासीहरूले समेत यसलाई सामाजिक सेवाको महत्वपूर्ण अभियानका रूपमा स्वागत गरेका छन्।







