अभिलाष गुप्ता
वीरगंज, ०७ अषाढ । पाँच महिनाअघि मात्रै विवाह भएकी युवती खुशबुन खातुनको दाइजोका कारण हत्या गरिएको आरोप लगाउँदै उनका बुबा असरफ अलीले घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
भारतको बिहार राज्य अन्तर्गत मैनाटार प्रखण्डको इनरवा निवासी अलीले आइतबार रिपोर्टर्स क्लब नेपाल वीरगञ्जद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफ्नी छोरी खुशबुन खातुनको हत्या दाइजोको विषयलाई लिएर भएको दाबी गरेका हुन्। उनले वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी ज्वाइँ अरवाज आलम, ससुरा आस महम्मद मियाँ तथा सासु तैमुल खातुनले मिलेर आफ्नी छोरीको हत्या गरेको आरोप लगाए।
पत्रकार सम्मेलनमा अलीले विवाहपछि केटा पक्षले पटक–पटक दाइजोको विषय उठाउँदै खुशबुनलाई मानसिक तथा शारीरिक यातना दिने गरेको बताए। उनका अनुसार पर्याप्त दाइजो नल्याएको भन्दै छोरीलाई निरन्तर अपमानजनक व्यवहार, कुटपिट तथा विभिन्न प्रकारका दबाब दिइँदै आएको थियो।
अलीले केटा पक्षले आफूलाई ५० लाख रुपैयाँ लिएर छोरीको सम्बन्ध अन्त्य गरी अर्को विवाह गर्नसमेत दबाब दिएको आरोप लगाए। उनले उक्त माग अस्वीकार गरेपछि छोरीमाथिको दुर्व्यवहार झन् बढेको दाबी गरे।
उनका अनुसार असार ३ गते खुशबुनलाई कुटपिट गरी हत्या गरिएको हो। घटनापछि आफूले न्यायको खोजी गरिरहे पनि प्रहरी प्रशासनबाट अपेक्षित सहयोग नपाएको भन्दै उनले गुनासो व्यक्त गरे। घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उनको माग छ।
पत्रकार सम्मेलनमा अलीले अरवाज आलमको अर्की युवतीसँग पनि सम्बन्ध रहेको दाबी गर्दै घरमै ती युवतीसँग भिडियो कलमा कुरा गर्ने र त्यसको विरोध गर्दा खुशबुनमाथि कुटपिट हुने गरेको बताए। उनले यही कारणले पनि वैवाहिक सम्बन्धमा निरन्तर तनाव सिर्जना भएको उल्लेख गरे।
“पाँच महिनाको वैवाहिक जीवनमध्ये मुस्किलले एक–दुई महिना मात्रै सम्बन्ध सामान्य रह्यो होला, बाँकी समय झगडा, तनाव र यातनामै बित्यो,” अलीले भने, “धेरै पटक पञ्चायती बसेर विवाद समाधान गर्ने प्रयास गरियो। हरेक पटक सुधार गर्ने प्रतिबद्धता जनाइए पनि व्यवहारमा कुनै परिवर्तन आएन।”
पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा आफूहरूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा सहभागी परिवारजनले पनि खुशबुनको मृत्यु रहस्यमय रहेको भन्दै घटनाको गहिरो अनुसन्धान आवश्यक रहेको बताएका थिए। उनीहरूले दाइजोको नाममा हुने हिंसा र महिलामाथिको अत्याचारविरुद्ध राज्यका निकाय थप संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।







