पटना, १७ अषाढ । राष्ट्रिय चिकित्सक दिवसको पूर्वसन्ध्यामा भारतको बिहार राज्यको राजधानी पटनास्थित राजेन्द्र नगरमा ‘चिकित्सा र मानव अधिकार’ विषयक अन्तरक्रिया तथा बिहार डाक्टर आइकन अवार्ड–२०२६ सम्मान समारोह सम्पन्न भएको छ।
मानवाधिकार टुडे र सिम्सको संयुक्त आयोजनामा पद्मश्री डा. जितेन्द्र कुमार सिंहको निवासमा आयोजित कार्यक्रममा पद्मश्री डा. जितेन्द्र कुमार सिंह, पद्मश्री अशोक विश्वास, गणितविद् प्रा. के.सी. सिंहा तथा मानवाधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमारले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पद्मश्री डा. जितेन्द्र कुमार सिंहले चिकित्सकहरू कर्तव्यनिष्ठ, जिम्मेवार र सेवाभावयुक्त हुनुपर्नेमा जोड दिए। उनले चिकित्सकले आफ्नो पेशागत दायित्वसँगै सामाजिक उत्तरदायित्व पनि इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताए।
मानवाधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमारले पीडित मानवताको सेवा नै चिकित्सकको पहिलो धर्म भएको उल्लेख गर्दै मानवअधिकारका मूल्य र मान्यतालाई आत्मसात् गर्दै सेवा दिनुपर्ने धारणा राखे।
पद्मश्री अशोक विश्वासले चिकित्सकलाई समाजले ‘धरतीका भगवान’का रूपमा सम्मान गर्ने गरेको उल्लेख गर्दै शारीरिक तथा मानसिक पीडा कम गर्न चिकित्सकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।
गणितविद् प्रा. के.सी. सिंहाले राष्ट्रको विकासमा चिकित्सकको योगदान उल्लेखनीय हुने बताउँदै असहाय तथा विपन्न नागरिकको सेवामा समर्पित हुन चिकित्सकहरूलाई आग्रह गरे।
केन्ट होमियो कलेज, वैशालीका निर्देशक डा. जितेन्द्र कुमारले चिकित्सकीय पेशामा नैतिक मूल्य र आचरणको विशेष महत्व रहेको बताए। मानवअधिकारकर्मी अमित कुमार विश्वासले स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा मानवअधिकारको संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
त्यस्तै, डा. मधुसूदन कुमारले सेवाभाव नै चिकित्सकको पहिलो धर्म भएको बताए भने डा. रितेश पाण्डेयले आयुष्मान कार्ड र मुख्यमन्त्री चिकित्सा सहायता योजनाले विपन्न नागरिकलाई उपचारमा ठूलो राहत दिएको बताए।
कार्यक्रमको अवसरमा चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १३ जना चिकित्सकलाई ‘बिहार डाक्टर आइकन अवार्ड–२०२६’ प्रदान गरिएको थियो। सम्मानित हुने चिकित्सकहरूमा डा. मधुसूदन सिंह, डा. मोहनीश सिन्हा, डा. रितेश पाण्डेय, डा. राजा अनुराग गौतम, डा. रामाकान्त ठाकुर, डा. लभ्ली कुमारी, डा. अपूर्वा, डा. प्रीति रञ्जन, डा. आकाश गांगुली, डा. बी.के. शरण, डा. अमित कुमार, डा. कुमार अभिषेक तथा डा. प्रशान्त रावत रहेका छन्।
समारोहमा स्वास्थ्य सेवा, चिकित्सा नैतिकता, मानवअधिकार तथा सामाजिक उत्तरदायित्वका विषयमा समेत व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।


