अभिलाष गुप्ता
जगरनाथपुर, १९ अषाढ । पर्साको जगरनाथपुर गाउँपालिका–५ निवासी एक अति विपन्न परिवारलाई छोरीको विवाह सम्पन्न गर्न सहयोग पुग्ने उद्देश्यले समाजसेवी बृजेश्वर प्रसाद चौधरीले खाद्यान्न सहयोग प्रदान गरेका छन्।
यसै महिनाभित्र विवाह हुन लागेकी छोरीको परिवार आर्थिक अभावका कारण विवाहको तयारी गर्न कठिनाइमा परेको जानकारी पाएपछि चौधरीले आफ्नो व्यक्तिगत पहलमा दुई बोरा मसिनो चामल र एक बोरा चिउरा गरी कुल तीन बोरा खाद्यान्न सामग्री उपलब्ध गराएका हुन्।
खाद्यान्न हस्तान्तरण गर्दै समाजसेवी चौधरीले आर्थिक रूपमा कमजोर परिवारलाई सानो सहयोगले पनि ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। समाजमा रहेका विपन्न, असहाय तथा समस्यामा परेका परिवारप्रति सहयोग र सद्भावको भावना अझ विस्तार हुनुपर्नेमा उनले जोड दिए। सामाजिक उत्तरदायित्व सबैको साझा दायित्व भएकाले आफ्नो तर्फबाट सकेको सहयोग गरेको उनले बताए।
खाद्यान्न सहयोग प्राप्त गरेपछि पीडित परिवारले समाजसेवी चौधरीप्रति हार्दिक आभार व्यक्त गरेको छ। परिवारका सदस्यहरूले यस्तो मानवीय सहयोगले छोरीको विवाहको तयारीमा ठूलो राहत पुगेको बताउँदै सहयोगीप्रति धन्यवाद व्यक्त गरेका छन्।
स्थानीयवासीले पनि समाजसेवी चौधरीको यस कार्यको प्रशंसा गर्दै समाजमा यस्ता मानवीय र परोपकारी कार्यले सहयोगको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।


