अभिलाष गुप्ता
वीरगंज, २४ अषाढ । लिटल एन्जल बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८३ का लागि इलेक्ट्रोनिक मतदान प्रणालीमार्फत निर्वाचित हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन, अनुशासन प्रमुख, खेलकुद संयोजक तथा अन्य विद्यार्थी नेतृत्वलाई ब्याज वितरण तथा शपथग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक मणि पाख्रिङले निर्वाचित विद्यार्थी नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेतृत्व भनेको अधिकारभन्दा पनि जिम्मेवारी भएको उल्लेख गरे। उनले विद्यालयको अनुशासन कायम राख्दै सम्पूर्ण विद्यार्थीका लागि प्रेरणादायी भूमिका निर्वाह गर्न आग्रह गरे।
निर्देशक पाख्रिङले अनुशासन केवल विद्यालयभित्र सीमित विषय नभई व्यक्तित्व निर्माण, व्यवहार सुधार तथा समाजमा सम्मानित पहिचान स्थापित गर्ने आधार भएको बताए। उनले विद्यार्थी जीवनमै प्राप्त नेतृत्वको अवसरलाई भविष्यको सफल करियर निर्माण गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए।
उनले नेतृत्वमा चयन भएका विद्यार्थीहरूले इमान्दारी, अनुशासन, जिम्मेवारी र सेवाभावका साथ आफ्नो दायित्व पूरा गर्दै विद्यालयको गौरव बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रिन्सिपल सन्नी पाख्रिङले पनि इलेक्ट्रोनिक मतदान प्रणालीमार्फत लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित विद्यार्थीहरूलाई बधाई दिँदै अब उनीहरूको नेतृत्व क्षमताको वास्तविक परीक्षा सुरु भएको बताए।
उनले नेतृत्वले व्यक्तिको सोच, व्यवहार, आत्मविश्वास र निर्णय क्षमता विकास गर्ने भएकाले विद्यालयको अनुशासन पद्धति पालना गर्दै सबै विद्यार्थीका लागि अनुकरणीय बन्न आग्रह गरे। विद्यार्थी जीवनमै नेतृत्वको अवसर प्राप्त गर्नु ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनले यस अवसरलाई सामान्य रूपमा नलिई सिकाइ, सेवा र जिम्मेवारीको माध्यमका रूपमा उपयोग गर्न सुझाव दिए।
कार्यक्रममा विद्यालयकी सञ्चालिका मीरा राई पाख्रिङको विशेष उपस्थिति रहेको थियो। शपथग्रहणसँगै नवनिर्वाचित विद्यार्थी नेतृत्वले विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए।
विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।



