अभिलाष गुप्ता
वीरगंज, २७ अषाढ । मधेश प्रदेशकै जनआस्थाको प्रमुख धार्मिक केन्द्र श्री गहवा माई मन्दिरमा आयोजना हुने चौथो विशाल रथ यात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजक श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति ले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत समितिले आगामी असार ३२ गते र श्रावण १ गते सञ्चालन हुने धार्मिक महोत्सवका कार्यक्रम सार्वजनिक गर्दै लाखौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको जनाएको हो।
समितिका अनुसार असार ३२ गते बिहान ७:३० बजे श्री गहवा माई मन्दिर प्राङ्गणबाट विधिवत् पूजा–अर्चनापछि चौथो विशाल रथ यात्राको शुभारम्भ हुनेछ। यस वर्षको रथ यात्राको प्रमुख आकर्षणका रूपमा रथ यात्रा मार्गभर हेलिकप्टरबाट पुष्पवर्षा गरिने व्यवस्था मिलाइएको छ, जसले भक्तजनलाई थप धार्मिक उत्साह प्रदान गर्ने विश्वास गरिएको छ।
त्यसै दिन साँझ मन्दिर परिसरमा प्रख्यात भजन कलाकारहरूको सहभागितामा भव्य भजन सन्ध्या आयोजना गरिनेछ। त्यसपछि श्रावण १ गते बिहान ६ बजेदेखि ५६ भोग पूजा तथा दिउँसो ४ बजेदेखि विशाल महाप्रसाद भण्डारा सञ्चालन हुने कार्यक्रम तय गरिएको छ।
पत्रकार सम्मेलनमा समितिले रथ यात्राका क्रममा लाखौँ भक्तजनको सहज आवागमन र सुरक्षालाई ध्यानमा राख्दै मेनरोड क्षेत्रमा भइरहेको सडक विस्तार तथा तोडफोडका काम रथ यात्रा अवधिभर स्थगित गर्न सम्बन्धित सडक डिभिजन कार्यालयलाई औपचारिक रूपमा पत्राचार गरिसकिएको जानकारी दिएको छ।
समितिले वीरगंजका सम्पूर्ण सामाजिक, धार्मिक, जातीय, व्यावसायिक सङ्घ–संस्था, बुद्धिजीवी तथा नागरिक समाजलाई रथ यात्रामा सक्रिय सहभागिता जनाउन हार्दिक आह्वान गरेको छ। साथै रथ यात्रा मार्गमा पर्ने घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा कलश स्थापना, तोरण सजावट, दीप प्रज्वलन गरी माताको स्वागत गर्न तथा श्रद्धालुहरूका लागि खानेपानी, सर्वतलगायत सेवामूलक व्यवस्था मिलाई धार्मिक महोत्सवलाई सफल बनाउन सहयोग गर्न आग्रह गरिएको छ।
पत्रकार सम्मेलनमा रथ यात्रा–२०८३ की महिला संयोजक विभा साह, संयोजक बसन्त कुमार गुप्ता, प्रचार–प्रसार उपसमितिका संयोजक श्याम प्रसाद गुप्ता, श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) लगायत समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
आयोजक समितिले गहवा माईको रथ यात्रा धार्मिक आस्थाको मात्र नभई वीरगञ्जको सांस्कृतिक पहिचान, सामाजिक सद्भाव र सामुदायिक एकताको महाउत्सव भएकाले सबैलाई सहभागी भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन आग्रह गरेको छ।


