अभिलाष गुप्ता
वीरगंज, २७ अषाढ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ। वीरगञ्जस्थित होटल भिस्वामा आयोजित “SEE 2082 Excellence Honor Award” कार्यक्रम मार्फत नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका ५६ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो।
नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा नेशनल प्याब्सनका संस्थापक सदस्य रामबिनय चौरसिया, सचिव सुशील भट्टराई, केन्द्रीय सदस्य अर्बिन्द सिंह, पर्सा हिसानका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तवलगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा एसईई २०८२ मा उत्कृष्ट सफलता हासिल गरेका ५६ जना विद्यार्थीलाई खादा, टीका तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै अतिथिहरूले मेहनत, अनुशासन र गुणस्तरीय शिक्षाको प्रतिफलस्वरूप यस्तो सफलता प्राप्त भएको बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेशनल प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ताले विद्यार्थीहरूको उत्कृष्ट नतिजाले निजी विद्यालयप्रतिको विश्वास अझ सुदृढ भएको बताए। उनले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्नुको उद्देश्य उनीहरूलाई थप प्रेरणा प्रदान गर्नुका साथै आगामी पुस्तालाई पनि उत्कृष्ट प्रदर्शन गर्न उत्प्रेरित गर्नु रहेको उल्लेख गरे।
अध्यक्ष साहले भने, “विद्यार्थीको सफलता विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी स्वयंको संयुक्त मेहनतको परिणाम हो। नेशनल प्याब्सन पर्साले आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धात्मक शिक्षामा जोड दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निरन्तर काम गर्नेछ। यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा थप हौसला र जिम्मेवारीको भावना विकास हुने हाम्रो विश्वास छ।”
प्रमुख अतिथि कार्यवाहक मेयर इम्तियाज आलमले पनि सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गरे। उनले विद्यार्थीहरूलाई भविष्यमा पनि मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्दै वीरगञ्जको शैक्षिक विकासमा निजी विद्यालयहरूको योगदान प्रशंसनीय रहेको बताए।
कार्यक्रमको अन्त्यमा सम्मानित विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले यस्तो सम्मान कार्यक्रमले आफूहरूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए। नेशनल प्याब्सन पर्साले आगामी वर्षहरूमा पनि उत्कृष्ट विद्यार्थीहरूको सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


