वीरगंज, ०६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका जिल्ला सभापति तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरी पन्त वीरगंज महानगरपालिका वडा नं. १५ मा आयोजित जनतासँग प्रत्यक्ष भेटघाट तथा स्थानीय समस्या सम्बन्धी बृहत् छलफल कार्यक्रममा सहभागी भएका छन्।
स्थानीय बासिन्दाका समस्या, सुझाव र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिन आयोजित कार्यक्रममा सांसद पन्तले नागरिकका गुनासा सुन्नुका साथै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा स्थानीय विकास, सडक तथा पूर्वाधार, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतका विषयमा खुला छलफल भएको थियो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आफ्नो वडामा रहेका विभिन्न समस्याबारे सांसद पन्तको ध्यानाकर्षण गराएका थिए। उनीहरूले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन तथा आधारभूत सेवामा सुधार गर्न माग समेत गरेका छन्।
सांसद पन्तको उपस्थितिले स्थानीय नागरिकमा उत्साह थपिएको सहभागीहरूको भनाइ रहेको छ। जनतासँग प्रत्यक्ष संवाद मार्फत समस्याको पहिचान गरी समाधानको बाटो खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, युवा, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयवासीहरूले सांसद पन्तलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।


