अभिलाष गुप्ता
बारा, १५ कार्तिक । भदौ २३ र २४ गते बारा जिल्लामा भएको “जेन जी आन्दोलन” का क्रममा भएका तोडफोड र आगजनी घटनाको विरोधमा पीडितहरूले दिएका उजुरीमा अझै ठोस कारबाही नहुँदै, प्रहरीले स्थानीय समाजिक अभियान्ता प्रदीप कुशवाहालाई दोस्रोपटक पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका अनुसार, कुशवाहालाई “चिउटाहा वार्तालापका लागि बोलाइएको” भनिए पनि, पछि नियन्त्रणमा लिइएको हो। प्रहरीले उनलाई “वार्ताको लागि बोलाई पक्राउ गरिएको” बताएकोमा स्थानीयवासी र नागरिक समाजका प्रतिनिधिहरूले कडा आपत्ति जनाएका छन्।
स्थानीय सरोकारवालाहरूले कुशवाहाको गिरफ्तारीलाई राजनीतिक निर्देशनमा गरिएको दम्भपूर्ण कदम भन्दै तुरुन्त रिहाइको माग गरेका छन्। उनीहरूको भनाइमा, कुशवाहाले न्याय र शान्तिका पक्षमा आवाज उठाउँदै आएका कारण उनलाई योजनाबद्ध रूपमा फसाइएको हो।
प्रहरीले भने कुशवाहालाई आदर्श कोतवाल गाउँपालिकामा भएको आगजनी घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ। भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा बारा जिल्लाका विभिन्न स्थानमा सरकारी र निजी सम्पत्तिमाथि तोडफोड र आगजनी भएका थिए।
जिल्ला प्रहरी कार्यालय बारामा पीडितहरूले दर्जनौं उजुरी दर्ता गरे पनि, ती घटनाहरूमा संलग्न व्यक्तिहरूमाथि अझै कारबाही अघि बढाइएको छैन।
आन्दोलनका क्रममा बारा क्षेत्र नं.४ का पूर्वमन्त्री किसान श्रेष्ठको घर र चारवटा सवारीसाधन, vक्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहको घरमा समेत आगजनी गरी करोडौं मूल्यको क्षति,कलैया उपमहानगरपालिका प्रमुख बिनोद साह,प्रदेश सांसद महमद समीर,जिल्ला समन्वय समिति बारा,महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी,निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी लगायतका जनप्रतिनिधिहरूका घर र सम्पत्तिमा समेत आक्रमण भएको थियो।तर, यी सबै घटनामा संलग्न व्यक्तिहरू अहिलेसम्म पक्राउ परेका छैनन्।
यसबीच, जेन जी आन्दोलनका विषयमा गठित जांचबुझ समिति (अध्यक्ष गौरिबहादुर कार्की) समेत बारामा पुगेर पीडित र सरोकारवालासँग छलफल गरिसकेको छ। तर, दुई महिना बितिसक्दा पनि घटनाको अनुसन्धानमा प्रहरीको निष्क्रियता र दोहोरो मापदण्ड प्रति व्यापक असन्तोष व्यक्त गरिएको छ।
स्थानीय स्रोतका अनुसार, कुशवाहा पक्राउ परेपछि आदर्श कोतवाल गाउँपालिकामा उनका समर्थक युवाहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन् र निष्पक्ष अनुसन्धान तथा तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन्।


