अभिलाष गुप्ता
वीरगंज, २१ कार्तिक । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले आज मानवसेवा आश्रम वीरगंज शाखाको अवलोकन गर्दै आश्रममा आश्रित आमा बुवाहरूलाई बिहानको भोजन सेवा योगदान गर्नुभएको छ।
समाजप्रति उत्तरदायी भूमिकाका साथ मानवीय सेवामा समर्पित डीएसपी कार्कीले उक्त अवसरमा आश्रमका निवासीसँग आत्मीय संवाद गर्दै आगामी दिनहरूमा नेपाल प्रहरीका तर्फबाट सम्भव हुने सहयोग र सहकार्य निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उनले प्रहरी संस्था केवल अपराध नियन्त्रणमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व वहनमा पनि अग्रणी रहनुपर्ने बताउँदै मानवसेवा आश्रमजस्ता संस्थाहरूले समाजका बेसहारा, असहाय र अभावग्रस्त व्यक्तिहरूको जीवनमा आशाको किरण जगाइरहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा एलाईड युथ सोसाइटी वीरगंजका संस्थापक अध्यक्ष ओम कुमार झा, मानवसेवा आश्रमका संस्थापक सदस्य दिवेश गुप्ता, आश्रमकी कार्यालय प्रमुख मुना मगरलगायतका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।
आश्रमका तर्फबाट अतिथिहरूलाई स्वागत गर्दै प्रमुख मुना मगरले प्रहरी प्रशासनको यस्तो सामाजिक पहलले संस्थालाई थप ऊर्जा र उत्साह प्रदान गर्ने बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमको अन्त्यमा उपस्थित अतिथिहरूले संयुक्त रूपमा भोजन वितरणमा सहभागी भई समाजमा “सेवा नै सबैभन्दा ठूलो धर्म” भन्ने सन्देश दिएका थिए।


