अभिलाष गुप्ता
वीरगंज, २९ कार्तिक । हरियाली, स्वच्छता र सीमाक्षेत्रको दीर्घकालीन सौन्दर्यकरणलाई एउटै उद्देश्यमा जोड्दै वीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०, पर्साको संयुक्त सहकार्यमा संचालित सफाइ एवं हरियाली संरक्षण अभियान आज १५ औँ दिन पनि निरन्तर रूपमा सम्पन्न भयो।

आजको कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी रहे। साथै भारतीय महावाणिज्य दूतावास वीरगंजका प्रमुख डी.एस. मिना, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख पुरन चन्द भट्ट, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख भोला दहाल, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै मेयर सिंहले सीमाक्षेत्रको सुरक्षित, स्वच्छ र हरियालीयुक्त वातावरण निर्माणमा सबै क्षेत्रको सामूहिक भूमिका अपरिहार्य रहेको बताउँदै महानगरले दिगो वातावरणीय सुधारका लागि निरन्तर पहल गरिरहेको उल्लेख गरे।भारतीय दूतावासका प्रमुख डी.एस. मिनाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध वातावरणीय तथा सीमाक्षेत्रीय व्यवस्थापनबाट झनै मजबुत हुने धारणा व्यक्त गरे।
अभियानअन्तर्गत आज पनि सीमाक्षेत्रको सरसफाइ, सडकछेउका झाडी कटान, वृक्षारोपण तथा पुरानै हरियाली संरक्षणका विभिन्न गतिविधि सञ्चालन गरियो। स्थानीयवासीहरूले निरन्तर १५ दिनदेखि जारी अभियानले वातावरणमा आएको साफ–सुगन्धित परिवर्तनप्रति सन्तोष व्यक्त गरेका छन्।अभियानलाई अझ दिगो, प्रभावकारी र समुदायमुखी बनाउँदै आगामी दिनहरूमा निरन्तरता दिइने आयोजकहरूले जानकारी दिएका छन्।




