वीरगंज, ११ मंसिर । बाराको करैयामाई गाउँपालिका–१ हरैयामा बुधवार मध्यराति एक चिनियाँ नागरिकले नेपाली नाबालिकासँग विवाह गर्ने तयारी गरिरहेको अवस्थामा प्रहरीले बेहुला, बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको छ ।
हरैया गाउँ र आसपासका क्षेत्रमा पछिल्ला केही वर्षयता चिनियाँ नागरिकसँग मुस्लिम समुदायका महिलाहरूको विवाह हुने घटना दोहोरिरहेको सुराकीको आधारमा प्रहरीले विवाह स्थलबाट बेहुलासहित तीनजनालाई पक्राउ गरेको जनाएको छ ।
स्थानीयका अनुसार गत एक वर्षमै त्यस बस्तीमा चिनियाँ नागरिकसँग तीनवटा विवाह भइसकेका छन् ।
वडाध्यक्ष सोनालाल साहका अनुसार चिनियाँ नागरिक विवाह गर्ने उद्देश्यले बालिकाको घरमै आएका थिए । चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा रहेको प्रहरीले जनाएको छ ।
कानुन अनुसार पुरूषको २२ वर्ष र महिलाको २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ तर पक्राउ परेकी युवतीको उमेर १८ वर्ष मात्र रहेको बताइन्छ ।



