रक्सौल/पूर्वी चम्पारण १५ मंसिर । स्थानीय पत्रकारितालाई नयाँ दिशा दिने वरिष्ठ पत्रकार तथा रक्सौल प्रेस क्लबका पूर्व अध्यक्ष बाबू रामपुकार सिंहको छैटौँ पुण्यतिथि बिहीवार श्रद्धा र सम्मानपूर्वक मनाइएको छ ।
६८ वर्षको उमेरमा भएको उनको निधनलाई रक्सौल पत्रकारितामा एक युगको अवसानका रूपमा लिइएको थियो। व्यक्तित्वको सरलता, कामप्रतिको समर्पण र सामाजिक विषयहरूमा सक्रिय भूमिकाका कारण आज पनि उनी क्षेत्रका ‘युगपुरुष’का रूपमा स्मरण गरिन्छन् ।

आदापुर प्रखण्डको कुचुरवारी गाउँ निवासी बाबू रामपुकार सिंह, बाबू जगदेव सिंहका ज्येष्ठ पुत्र थिए। उनले आफ्नो पत्रकारिता यात्रा सन् १९९० मा ‘हिन्दुस्तान टाइम्स’ बाट सुरु गरेका थिए। जीवनको अन्तिम समयसम्म उनी निर्भीक, जनपक्षीय र तथ्यपरक पत्रकारितामा अडिग रहे।
बिहार सरकारले मान्यता दिएको पत्रकारको रूपमा काम गर्दै उनले करिब डेढ दशकसम्म रक्सौल प्रेस क्लबको अध्यक्षको जिम्मेवारी बहन गरे। उनको नेतृत्वमा रक्सौलका पत्रकारहरू व्यवस्थित, अनुशासित र सशक्त बनेका थिए। साथै, उनी नेशनल युनियन अफ जर्नलिस्ट्सको रक्सौल इकाईका संरक्षक तथा श्रमजीवी पत्रकार युनियनमा पनि सक्रिय थिए ।
उनको पुण्यतिथिको अवसरमा रक्सौलस्थित राष्ट्रिय गान्धी प्राथमिक विद्यालयमा विशेष श्रद्धाञ्जलि कार्यक्रम आयोजित गरियो। विद्यालयका प्रधानाध्यापक मुनेश राम तथा शिक्षकहरूले विद्यार्थीहरूलाई बाबू रामपुकार सिंहको जीवन, संघर्ष र पत्रकारितामा दिएको योगदानबारे जानकारी गराए । सीमावर्ती क्षेत्र जस्तै रक्सौलमा तथ्यपरक, सन्तुलित र जनहितमुखी समाचार–प्रस्तुतीकरणको परम्परा स्थापित गर्न उनका भूमिकाबारे पनि चर्चा गरियो ।

यस्तै, रक्सौल प्रेस क्लबको तर्फबाट संयोजक लवकुमार चौबेको नेतृत्वमा पत्रकारहरूले विपन्न तथा जरुरतमन्दहरूलाई फलफूल, फूल र बिस्कुट वितरण गरे। कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार अनिल कुमार गुप्ताले गर्दै उनले भने, “रामपुकारजीको पत्रकारिता आदर्श, अनुशासन, नैतिकता र जनप्रतिबद्धताको जीवन्त प्रतीक हो। उनका स्मरणहरू सदैव हामीलाई प्रेरित गरिरहनेछन् ।”
श्रद्धाञ्जलि कार्यक्रममा पत्रकार अनिल कुमार गुप्ता, दीपक अग्निरथ, गणेश शंकर, राजेश केसरीवाल, लवकुमार चौबे, रविरंजन वर्मा, दीपक कुमार, पार्वती तिवारी, श्रेयांश कुमार ‘बिट्टू’, रितेश राज, पप्पू कुमार गिरी, समाजसेवी नुरुल्लाह खानलगायत धेरै पत्रकार तथा सामाजिक कार्यकर्ताहरू उपस्थित थिए ।
कार्यक्रमको अन्त्यमा दुई मिनेट मौनधारण गरिँदै दिवंगत पत्रकार बाबू रामपुकार सिंह र पत्रकार रेयाज आलम ‘लड्डू’ प्रति श्रद्धाञ्जलि अर्पण गरियो। सहभागीहरूले उनीहरूको आदर्श र मूल्यमा हिँड्ने संकल्प समेत व्यक्त गरे ।




