वीरगंज, १६ मंसिर । काठमाडौं स्थित नेपाल तेक्वान्डो एशोसिएसन हलमा सम्पन्न १३ औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा पर्सा–वीरगंजका प्रतिभावान खेलाडी अफ्ताब आलमले उल्लेखनीय सफलताको कायम गरेका छन् ।
५४ के.जी. तौल समूह अन्तर्गत प्रतिस्पर्धा गरेका नेपाल आर्मी तथा नेसनल टिमका खेलाडी आलमले प्रतियोगिताको क्रममा लगातार ४ खेलमा शानदार जित दर्ता गर्दै स्वर्ण पदक (पहिलो स्थान) हासिल गर्न सफल भएका हुन्। उनले एकपछि अर्को प्रतिस्पर्धीलाई पराजित गर्दै उत्कृष्ट कौशल, गति तथा रणनीतिका साथ आफ्नो दबदबा कायम राखे ।

उनका कोच तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका सफल खेलाडी मोहम्मद वेशले यो उपलब्धि राष्ट्रिय स्तरकै गर्वको विषय रहेको जनाउँदै अफ्ताबको मेहनत, अनुशासन र निरन्तर अभ्यास यसको मुख्य कारण भएको बताए ।
प्रतियोगितामा विभिन्न देशका खेलाडीहरू सहभागी रहेकाले यो जितले अफ्ताब आलमको अन्तर्राष्ट्रिय स्तरमा क्षमता प्रदर्शन भएको स्पष्ट देखिन्छ। नेपालको तर्फबाट तेक्वान्डो क्षेत्रमा उदाउँदै गरेका उत्कृष्ट खेलाडीहरू मध्ये एकका रूपमा उनी अझ स्थापित भएका छन् ।
यस उल्लेखनीय जितसंगै वीरगंज तेक्वान्डो दोजाङ, सम्पूर्ण खेलकुद परिवार तथा स्थानीयबासीले अफ्ताब आलमलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।



