अभिलाष गुप्ता
वीरगंज, २४ मंसिर । पोखरिया नगरपालिका–१ बनकटवा टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा. लक्ष्मी थापाको सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव नेजामुद्दीन शमानी तथा नेपाली कांग्रेस नेतृ आशा देवीको पहलमा आयोजित उक्त स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखाको जाँच तथा परामर्श प्रदान गरेका थिए।

जाँचका क्रममा ५९ जनामा मोतियाबिन्दु रोग पत्ता लागेकाले ती सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको जानकारी लायन्स क्लब परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेयले दिनुभयो। उहाँका अनुसार यो अभियान पोखरिया नगरपालिकाका सबै १० वटै वडामा सञ्चालन गरिने तयारी भइरहेको छ।
समाजसेवी राजु गिरीको अध्यक्षतामा सम्पन्न शिविरमा नेजामुद्दीन शमानी, आशा देवी, दिपनारायण रौनियार, सेन्ट्रल सिटीका अध्यक्ष सुशीला साह, डा. प्रभात चौरसिया, तिलक पटेल, विजय कुमार पटेल, नन्दकिशोर चौहान लगायतका सम्माननीय व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।





