अभिलाष गुप्ता
वीरगंज, ०३ पौष । वीरगंजको नारायणी रंगशालामा नेशनल इन्फोटेक कलेजको आयोजनामा NI Cup 2082 अन्तर–कलेज टी–२० क्रिकेट टुर्नामेन्ट भव्य रूपमा सुरु भएको छ । टुर्नामेन्टको उद्घाटन वीरगंज महानगर पालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रूपमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष रोशन कुमार सिंह उपस्थित थिए । पर्सा क्रिकेट एसोसिएसनका अध्यक्ष मनिष सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल इन्फोटेक कलेजका निर्देशक तथा कार्यक्रम संयोजक युवा नेता सुधिर पटेलले टुर्नामेन्टले कलेजस्तरीय विद्यार्थी खेलाडीहरूलाई प्रतिस्पर्धा, अनुभव र प्रतिभा प्रदर्शनको महत्वपूर्ण अवसर प्रदान गर्ने बताए ।
पहिलो खेलको नतिजा
टुर्नामेन्टको पहिलो खेल बालएक्टा कलेज र नेशनल इन्फोटेक कलेज बीच सम्पन्न भयो । टस हारेर पहिले ब्याटिङ गरेको बालएक्टा कलेज १७.१ ओभरमा ३६ रनमै अलआउट भयो । बालएक्टाका अविशेक कुमार र अविशेक के. तिवारीले समान ११–११ रनको योगदान दिए । नेशनल इन्फोटेकका तर्फबाट प्रथम गुप्ताले ३.१ ओभरमा ३ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे भने निरज पटेलले ३ ओभरमा २ विकेट लिए ।
जवाफमा नेशनल इन्फोटेक कलेजले ५.१ ओभरमै २ विकेट गुमाएर ४० रन बनाउँदै लक्ष्य सहजै पूरा गर्यो । डाबली मलिकले १७ रन र सुसान्त सिंहले १२ रनको योगदान दिए। यस खेलमा नेशनल इन्फोटेक कलेज ८ विकेटले विजयी भयो ।
पहिलो खेलको प्लेयर अफ द म्याच पुरस्कार क्यानका उपाध्यक्ष रोशन कुमार सिंहले प्रदान गरेका थिए ।

दोस्रो खेलको नतिजा
दोस्रो खेलमा BPC कलेज र OM नेशनल कलेज आमनेसामने भए। पहिले ब्याटिङ गरेको BPC कलेजले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १२२ रन बनायो । आयुष गुप्ताले २३ रन र अजाज अलीले २१ रनको योगदान दिए । OM नेशनलका तर्फबाट कुनाल मिश्राले ४ ओभरमा ३ विकेट तथा आदिल हवारीले ४ ओभरमा ३ विकेट लिए ।
१२३ रनको लक्ष्य पछ्याएको OM नेशनल कलेज २० ओभरमा ९ विकेट गुमाएर ८४ रनमै सीमित भयो। राहुल टी.के. हजामले ३१ रन बनाए भने शेख साकेतले १० रनको योगदान दिए । BPC कलेजका अजाज अलीले ३ ओभरमा २ विकेट तथा अर्का बलरले ४ ओभरमा २ विकेट लिए। यस खेलमा BPC कलेज ३८ रनले विजयी भयो ।
दोस्रो खेलको प्लेयर अफ द म्याच पुरस्कार पूर्व केन्द्रीय सदस्य कृष्ण कन्हैया द्वारा प्रदान गरिएको थियो ।
आयोजकका अनुसार टुर्नामेन्टले वीरगंज र आसपासका कलेजस्तरीय क्रिकेट खेलाडीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्नेछ भने आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिइने छ ।



