अभिलाष गुप्ता
वीरगंज, ०९ पुस । कराते ईन्टरनेशनल फ्रेन्डसीप कप 2025 मा सहभागिता जनाउन भारतको कोलकातातर्फ प्रस्थान गर्न लागेका नेपालका कराते खेलाडीहरूलाई खेलका लागि आवश्यक सामग्री तथा सम्मानसहित एक विशेष कार्यक्रमबीच विदाइ गरिएको छ ।
उक्त विदाइ कार्यक्रम कार्यक्रमका सभापति रवि यादवको अध्यक्षता तथा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) भोला दाहालको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा बिरगंजका युवा नेता सुधिर पटेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिडियो भोला दाहालले खेलकुदले राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उल्लेख गर्दै नेपाली खेलाडीहरू अनुशासन, मेहनत र आत्मविश्वासका साथ प्रतियोगितामा सहभागी भई देशको गौरव बढाउने विश्वास व्यक्त गरे । उनले खेलाडीहरूलाई शुभकामना दिँदै राज्यका तर्फबाट सम्भव सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।
विशिष्ट अतिथि युवा नेता सुधिर पटेलले खेलकुद युवाहरूको व्यक्तित्व विकासका साथै अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध सुदृढ गर्ने प्रभावकारी माध्यम भएको बताए । उनले Karate International Friendship Cup जस्तो प्रतियोगितामा नेपाली खेलाडीहरूको सहभागिता गर्वको विषय भएको उल्लेख गरे ।
कार्यक्रममा बिरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चौगाई, महादेव कुर्मी, महेश धामी, शर्मा नन्द कुशवाहा लगायतको उपस्थिति रहेको थियो । साथै विद्यार्थी नेता, जेन–जी नेता तथा समाजसेवीहरू चन्दन महतो, सरोज प्रसाद र दिपक यादवले पनि खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै उत्साहवर्धन गरे ।
कार्यक्रमका सभापति रवि यादवले खेलकुदमार्फत अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध मजबुत बनाउँदै राष्ट्रको सम्मान बढाउन खेलाडीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले आगामी दिनमा पनि खेलकुद प्रवर्द्धनका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।कार्यक्रमको अन्त्यमा Karate International Friendship Cup 2025 मा सहभागी हुन लागेका सबै खेलाडीहरूलाई सफल खेल प्रदर्शनको शुभकामना दिँदै सम्मानसाथ विदाइ गरिएको थियो ।



